चितवनमा नयाँ नोट आएन

चितवन, २१ असोज । चितवनका जनताहरुले यस पालीको दसैँमा नयाँ नोट प्रयोग गर्न नपाउने भएका छन् । जिल्लामा रहेका बाणिज्य बैंकहरुले नयाँ नोट वितरण नगरेपछि यहाँका बासिन्दाहरु पुरानै पैसामा नयाँ दसैँ मनाउन बाध्य हुनु परेको हो ।
चितवनमा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुको ७८ वटा शाखा कार्यालयहरु रहेको भएपनि नेपाल राष्ट्र बैंकको वीरगञ्ज शाखा कार्यालयबाट चितवनमा प्रति बैंक पाँच लाख ३५ हजार रुपैयाँ मात्र दिने भनेपछि यहाँका बैंकहरुले नयाँ नोट नल्याएको बैंकरहरु बताउँछन् । चितवनमा बाणिज्य बैंक तथा वित्तिय संस्थाहरुको तीन लाख भन्दा बढी ग्राहकहरु भएको भए पनि कुनै पनि ग्राहकले यस पालीको दसैँमा नयाँ नोट पाउन सकेनन् । आफूहरुको माग भन्दा थोरै पैसा राष्ट्र बैंकले दिनेभनेपछि पैसा नल्याएको एक बैंकका एक जना शाखा प्रबन्धकले बताए ।money
भैरहवाको राष्ट्र बैंकले प्रति बैंक २४ लाख पोखराकोले १५ लाख दिएको बेलामा वीरगञ्जकोले पाँच लाख मात्र दिने भएपछि आफूहरुले पैसा नल्याएको उनको भनाइ छ । थोरै पैसा लिन वीरगञ्ज पुग्नुपर्ने र आफ्ना सबै सेवाग्राहीलाई पनि नयाँ नोट दिन नपुग्ने भएपछि चितवनमा रहेका सबै बैंकहरुले नयाँ नोट नल्याउने निर्णय गरेर पैसा नल्याएको स्रोतले बताएको छ । आफ्नो नाम उल्लेख नगर्ने शर्तमा क वर्गको बैंकका एक जना शाखा प्रबन्धकले आफूहरुले यो वर्ष पैसा नउठाउँदा अर्को वर्षदेखि मागेको जति रकम उपलब्ध हुन दबाब पुग्ने भएको कारण पनि पैसा नल्याएको बताए ।
भरतपुरमा रहेको सरकारको स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकले समेत यस वर्ष नयाँ नोट साट्नको लागि काउन्टर राखेन । राष्ट्रिय बाणिज्य बैंक भरतपुर शाखाका प्रबन्धक हेमराज मरहठ्ठाले गत वर्ष १२ करोड रुपैयाँ नयाँ नोट साटिएको भएपनि यस पटक माग गरेको जति पैसा नआएको बताए । केही मात्रामा आएको रकम पनि कारोबारको लागि पठाएको तर नयाँ नोट नसाटेको मरहठ्ठाले जानकारी दिए ।