दारेचोकमा माइक्रो दुर्घटना, एकको मृत्यु १५ घाइते

आनन्द पोखरेल
चितवन, २१ असोज । पृथ्वी राजमार्गको चुङ खोलामा शुक्रबार भएको सवारी साधन दुर्घटनामा परि एक जना युवकको मृत्यु भएको छ ।
काठमाडौँबाट चितवनतर्फ आउँदै गरेको लु १ ज २८१५ नम्बरको माइक्रोलाई मुग्लिङबाट काठमाडौँतर्फ जाँदै गरेको ना३ख८०३४ नम्बरको ट्रकले चितवनको दारेचोक गाविस ३ चुङ खोलामा ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि माइक्रोका चालक सहित १६ जना यात्रु घाइते भएकोमा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले बताए । करिब ३३ वर्षका देखिने युवकको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटैमा मृत्यु भएको र उनको सनाखत हुन नसकेको श्रेष्ठले जानकारी दिए ।accident
माइक्रो चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये १३ जनाको भरतपुरमा रहेको चितवन मेडिकल कलेजमा र दुई जनाको कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।
दुर्घटनामा परि गुल्मी सिमिचौर ४ की २१ वर्षीय गीता पाण्डे, अर्घाखाँची भगवती ५ की २४ वर्षीय तारा पाण्डे, उनका तीन वर्षीय छोरा प्रस्ताव पाण्डे, अर्घाखाँची पडेना १ घर भएका ४० वर्षीय सरस्वती भट्टराई, सोही स्थानका ४७ वर्षीय डिल्लीराज भट्टराई घाइते भएका छन् । त्यसैगरी, नवलपरासी बर्दघाट ४ का १० वर्षीय सुजल न्यौपाने, सुजलका तीन वर्षीय भाइ सवल न्यौपाने, वर्दघाट ७ की ३३ वर्षीय शोभा भण्डारी, नवलपरासी बैरला ७ का सन्तोषी कुँवर राना, रुपन्देही भैरहवा ७ का ४९ वर्षीय ध्रुवलाल घिमिरे, २७ वर्षीय माया घिमिरे, रुपन्देही देवदह ६ का २० वर्षीय वीरेन्द्र कुमार दर्लामी घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका बर्दघाटकी शोभा भण्डारी र देवहदका वीरेन्द्र कुमार दर्लामीको पुरानो मेडिकल कलेजमा उपचार भइहरेको तथा बाँकी घाइतेको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए । घाइते मध्ये आठ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।