चारकिलोमा ट्रक खस्दा एक जनाको मृत्यु

चितवन, २१ असोज ।
नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको ट्रक शुक्रबार बिहान करिब एक बजेतिर नारायणगढ-मुग्लिङ सडक खण्डको चार किलो भन्ने स्थानबाट त्रिशुली नदीमा खसेको छ ।
मुग्लिङबाट चार किलो मिटर नारायणगढतर्फको दुरीमा भएको उक्त दुर्घटनामा ना४ख ८५५२ नम्बरको ट्रक चालकको मृत्यु भएको छ । ट्रक चालक कविलास गाविस वडा नम्बर २ घर भएका २५ वर्षीय विकास गुरुङ रहेको र उनको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । उक्त दुर्घटनामा परी ट्रकका सह चालक कविलास ९ का २६ वर्षीय प्रिन्सेस गुरुङको चितवन मेडिकल कलेजमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको श्रेष्ठले जानकारी दिए ।
दुर्घटना भएको स्थानमा बाटो साँघुरो र अप्ठ्यारो हुँदा समेत चालकले संयमितता नदेखाएको कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । मुग्लिङ नारायणगढ सडक खण्डमा दुर्घटना बढ्दै गएको छ । सडक सुधारको लागि भन्दै बाटो फराकिलो बनाउने काम भइरहेको अवस्थामा सवारी आवागमनमा अवरोध हुँदा समेत दुर्घटना बढेको जानकारहरु बताउँछन् ।