चितवनका जिल्ला वन अधिकृतलाई बिदाइ र स्वागत

शंकर निर्देश
चितवन, २० असोज । वरण्डाभार संरक्षित वन परिषद् चितवनले नजिकिदै गरेको दशैं, तिहार एवम् छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
बिहीबार भरतपुरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा परिषद्ले जिल्ला वन कार्यालय चितवनबाट सरुवा भई क्षेत्रीय वन निर्देशनालय सुर्खेत जान लागेका चितवनका जिल्ला वन अधिकृत गणेश रायलाई बिदाई समेत गरेको छ । हाल वन कार्यालय चितवनमा नयाँ जिल्ला वन अधिकृतका रुपमा केदार प्रसाद पौडेल आएका छन् । आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा जिल्ला वन अधिकृतका रुपमा चितवन आएका केदार प्रसाद पौडेललाई स्वागत समेत गरिएको छ ।
दसैँ, तिहार जस्ता नेपालीहरुको महान् चाडका अवसरमा आफ्नो शुभकामना व्यक्त गर्दै चितवनबाट बिदाई भएका वन अधिकृत गणेश रायले आफूले चितवनमा रहेर काम गर्दा स्थानीय स्तरबाट प्राप्त गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए । यसैगरी नयाँ जिल्ला वन अधिकृत केदार प्रसाद पौडेलले वन र वन्यजन्तुको संरक्षणमा आफु पनि सशक्त भई लाग्नेमा प्रतिवद्धता जनाएका छन् । सो कार्यक्रममा वरण्डाभार संरक्षित वन परिषद् चितवन पदाधिकारी, वन कार्यालय कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम वरण्डाभार संरक्षित वन परिषद् चितवनका अध्यक्ष सरोज गुरुङको अध्यक्षतामा भएको हो ।