‘राजनीतिक स्थायीत्व नभएसम्म विकास असम्भव’

चितवन, २० असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले मुलुकमा दिगो शान्तिको आवश्यकता भएको बताएका छन् ।
राजनीतिक स्थायीत्व नभएसम्म मुलुक परिवर्तन हुन नसक्ने कार्कीको भनाइ छ । विजयादशमी तथा शुभ दिपावलीको अवसरमा प्रजातान्त्रवादी प्राध्यापक संघ, चितवनको आयोजनामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कार्कीले आर्थिक विकासको बाटोमा लाग्न आवश्यक भएको बताए । आर्थिक विकासका कुराहरु नगरी प्रजातन्त्र र लोकतन्त्रको मात्र व्याख्या गर्नु खोक्रो नारा जस्तो भएको कार्कीको टिप्पणी छ ।
अहिलेको पुस्ताले संघर्ष गरी अब आउने पुस्तालाई समृद्ध बनाउन नेपाली काँग्रेसले थालनी गर्नुपर्ने कार्कीले बताए । कार्कीले महिला सशक्तिकरणको सुरुवात घर घरबाट हुनुपर्नेमा समेत जोड दिएका छन् । कार्यक्रममा सहभागी प्रजातन्त्रवादी प्राध्यापकहरुले उठाएको पब्लिक विश्वविद्यालयको विषयमा बोल्दै कार्कीले त्यसका लागि व्यापक छलफलको आवश्यकता पर्ने बताए । नेपाल प्राध्यापक संघका सचिव प्रकाश अधिकारीले पब्लिक विश्वविद्यालयको अभियानलाई अगाडि बढाउन आवश्यक रहेको बताएका छन् ।
पहाडी भेगका विद्यार्थीहरुलाई पनि स्नातक तहसम्मको अध्ययन अध्यापन गराउने अवसर पब्लिक विश्वविद्यालयले प्रदान गर्ने अधिकारीको भनाइ छ । सांसद अञ्जनी श्रेष्ठले प्राजातन्त्रवादी प्राध्यापक संघ चितवनमा महिलाहरुको सहभागिता नहुनुमा दुख व्यक्त गरिन् । महिला प्राध्यापकहरुलाई पनि समावेश गरी प्राध्यापकहरुको समस्या सुल्झाउन सबै भएर अगाडि बढ्न सांसद श्रेष्ठले आग्रह आग्रह गरेकी थिइन् । कार्यक्रममा नेपाली काँग्रेस चितवनका उपसभापति कैलाश कोइराला, सचिव राजिव न्यौपाने र उत्तम जोशीले नेपाली काँग्रेस चितवनलाई सुदृढ बनाउँदै अगाडि बढाउन जिल्ला समिति क्रियाशिल रहेको बताएका थिए ।
समृद्ध प्रजातन्त्रको पक्षमा नेपाली काँग्रेसको लाग्नुपर्ने भन्दै काँग्रेसलाई पनि बलियो र प्रतिष्ठित राजनीतिक पार्टीको रुपमा चिनाउन उनीहरुको आग्रह छ ।