चाडपर्वले नेपालीबीच एकता ल्याएको छ : एमाले महासचिव पोखरेल

अानन्द पाेखरेल

चितवन, २० असोज । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपालका चाडपर्वले नेपालीबीच एकता ल्याउने काम गरेको बताएका छन् ।
नेकपा एमाले चितवनद्वारा बिहीबार भरतपुरमा आयोजित दसैँ, तिहार, छठ तथा क्रिसमशको शुभकामना आदान प्रदान कार्यक्रममा एमाले महासचिव पोखरेलले चाडपर्वहरु हाम्रा पूर्खाहरुले सद्भावना कायम राख्ने हिसाबले प्रारम्भ गरेको विषय भएकोले हामीले निरन्तरता दिनुपर्ने बताए । पुर्खाहरुले सबै मिलेर बस्नुपर्ने देखाए जसरी त्यही कुरा हामीले पनि व्यवहारमा लागू गर्दै आएको पोखरेलको भनाइ छ ।
20161006_112132संविधानमा नेपाललाई एउटा बहुजातीय, बहु भाषिक, बहु धार्मिक र बहु सांस्कृतिक राष्ट्रिय राज्य मानेको तर माओवादीले बहु राष्ट्रिय राज्य भन्दै आएकोले पोखरेलले माओवादी प्रवृत्तिको विरोध गरे । नेपाल पहिलेदेखि नै समृद्ध रहँदै आएकोमा नेपालका शत्रुहरुले नेपाललाई टुक्राउन खोज्दा समेत नसकेको अवस्थामा अहिले देश भित्रकै केही शक्तिहरुले नेपाललाई कमजोर बनाउन खोजेको एमाले महासचिव पोखरेलले बताए ।
नेपालमा १० वटा भन्दा बढी धर्म, एक सय २५ जाति, एक सय १० भाषाभाषीका मानिस बस्दै आएकोले नेपालको वास्तविकतालाई बुझ्दै यसलाई अभिभाज्य राज्य बनाउनु आजको आवश्यकता भएको एमाले महासचिव ईश्वर पोखरेलले बताए । नेपालमा नेपाली भाषा भन्दा फरक भाषा बोल्ने, दौरा सुरुवाल लगाउने भन्दा फरक पोशाक लगाउने र हिन्दू बाहेक धर्म मान्ने समुदाय पनि भएकोले नेपाल धर्म निरपेक्ष राज्य बनाइएको पोखरेलले बताए ।
एमाले महासचिव पोखरेलले संविधान संशोधनको विषयमा प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्प कमल दाहालले एमालेसँग कुनै छलफल नगरेको बताउँदै एमालेसँग छलफल भइरहेको छ भनेर दाहालले हावा कुरा गरेको बताए । एमालेको लोकप्रियताबाट डराएका शक्तिहरुले एमालेलाई सरकारबाट हटाए पनि एमाले सरकारमा छदा ल्याएको नीति तथा कार्यक्रमलाई प्रतिपक्षमा बसेरै भएपनि एमालेले पूरा गराउन दबाब दिने महासचिव पोखरेलको भनाइ थियो ।
20161006_085618

कार्यक्रममा पूर्व अर्थमन्त्री एवम् नेकपा एमालेका स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेले नेपाललाई हिन्दू राज्य बनाउनको लागि बाह्य शक्ति जति लागेपनि त्यो पुरा नहुने बताए । मोदीले नेपाललाई हिन्दू राज्य हुनुपर्छ भन्नु बेकारको कुरा भएको भन्दै बाह्य शक्तिले नेपाललाई प्रयोगशाला बनाउन खोजेको नेता पाण्डेले आरोप लगाए । भारतमा करिब ८० प्रतिशतको हाराहारीमा हिन्दू हुँदा भारतको तल्लो सदनमा मोदीको दुई तीहाइ सांसदले समेत भारतलाई हिन्दु राज्य बनाउन नसकेको अवस्थामा नेपाल हिन्दू राज्य हुनुपर्छ नेपाललाई बर्बादीमा धकेल्न खोजेको पाण्डेले बताए ।
शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा एमाले पोलिटब्यूरो सदस्य काशीनाथ अधिकारी, बैकल्पिक केन्द्रीय सदस्य कृष्ण प्रसाद खनाल, चितवन क्षेत्र नम्बर ३ का सांसद कृष्णभक्त पोखरेल, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेकपा माओवादी केन्द्र चितवनका संयोजक यमबहादुर परियार, राप्रपा नेपाल चितवनका अध्यक्ष बद्रि तिमिल्सीनालगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम नेकपा एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाको अध्यक्षतामा भएको थियो ।