चितवनका एसपी तराईकै सर्वोत्कृष्ट

चितवन,१९ असोज। चितवनका जिल्ला प्रहरी प्रमुख बसन्तबहादुर कुँवर पुरस्कृत हुने भएका छन् । आफ्नो खरो स्वभावका कारण देशभर चर्चित उनी प्रहरी दिवसका अवसरमा उत्कृष्ट अधिकृतका रुपमा पुरस्कृत हुन लागेका हुन् ।
नेपाल प्रहरीले तराईका जिल्लाहरूमध्ये जिल्ला प्रहरी कार्यालय चितवनलाई उत्कृष्ट घोषित गरेको हो । प्रहरी दिवसको अवसरमा भोलि आयोजना गरिने विशेष समारोहमा चितवन जिल्ला प्रहरी प्रमुखका रुपमा प्रहरी उपरीक्षक ९एसपी० कुँवरले पुरस्कार थाप्नेछन् ।
तराईका जिल्लाहरुमा चितवन प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै नेपाल प्रहरीले चितवन प्रहरी कार्यालयलाई उत्कृष्ट ठहर गरेको हो । कुँवर जिल्ला आएदेखि नै यहाँको शान्ति सुरक्षा मजबुत बनेको तथा दलाली प्रथाको अन्त्य हुँदै गएको महसुस धेरैले गरेका छन् । नेपाल प्रहरीमा एक इमानदार र हठी प्रहरी अधिकृतका रुपमा उनी परिचित छन् ।basanta-800x445
विशेषगरी पछिल्लो समयमा सरकारी निकायहरुमा मौलाएको दलाली प्रथाको अन्त, गैरकानूनी तथा दर्ताविना चलेका विभिन्न व्यवसायलाई सही बाटोमा ल्याउने काम, सार्वजनिक यातायातका साधनमा तोकिएको भन्दा बढी भाडा लिन नदिने काममा एसपी कुँवरको भूमिका उल्लेखनीय रहेको छ । त्यस्तै जिल्लामा मौलाएको गुण्डागर्दी नियन्त्रणमा पनि उनी उत्तिकै खरो देखिएका छन् । उनले कुनैपनि घटनामा राजनीतिक हस्तक्षेप हुन नदिन सक्दो प्रयास गरेको बताइन्छ । प्रहरीहरु नै भन्छन्, “कुँवर निकै कडा छन् र नहुने कुरामा हुँदैन भनेपछि उनी पछि हट्दैनन् ।”
यस्तै क्षेत्रीय तालिम केन्द्र बुटवलका कमल जीटी र जिल्ला ट्राफिक कार्यालय चितवन पनि पुरस्कृत हुँदैछन् । यसैगरी नेपाल प्रहरीले हरेक वर्ष प्रदान गर्ने ‘प्रहरी ब्याटल’ यसवर्ष पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआईजी० कमलसिंह बमले प्राप्त गर्दैछन् । प्रहरी प्रशिक्षण प्रतिष्ठानले हरेक वर्ष देशभरिका प्रहरी कार्यालयको कार्यक्षमता तथा दक्षता मूल्यांकनका आधारमा उत्कृष्ट ठहर गर्दै बमलाई प्रहरी ब्याटल प्रदान गर्न लागिएको हो । प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले विशेष कार्यक्रमको आयोजना गरेर मनाउने गरेको छ ।
देशभरका अञ्चल प्रहरी कार्यालयमध्ये भेरी अञ्चल प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० धिरु बस्न्यात उत्कृष्ट अञ्चल प्रहरी कार्यालय प्रमुखका रूपमा पुरस्कृत हुँदैछन् । अञ्चल प्रहरी कार्यालयमा सुुधार तथा अपराध नियन्त्रणमा उल्लेखनीय काम गरेको भन्दै भेरी प्रमुख बस्न्यातलाई पुरस्कृत गर्ने निर्णय गरिएको स्रोतले जनाएको छ ।
यस्तै पहाडी जिल्लामा काभ्रे प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० राजेशनाथ बाँस्तोला उत्कृष्ट जिल्ला प्रमुखका रूपमा पुरस्कृत हुने भएका छन् । उनले यातायात व्यवसायीको सिन्डिकेट तोड्न प्रमुख भूमिका खेलेका थिए । त्यसैगरी पूर्व क्षेत्रीय दंगा प्रहरी गण, सशस्त्र प्रहरी गुल्म, इलाका प्रहरी कार्यालय टीकापुर कैलाली, बयलपाटा अछाम, नवलपरासी कारागार, प्रहरी चौकी हिले धनकुटा, क्षेत्रीय ट्राफिक कार्यालय बुटवलका प्रकाश अधिकारी पनि उत्कृष्ट भएका छन् ।
पुरस्कृत गर्न गत साउन महिनादेखि प्रहरी प्रशिक्षण प्रतिष्ठानले आन्तरिक मूल्यांकन गर्दै आएको थियो । त्यसमा प्रहरीले दिएको शान्तिसुरक्षा र त्यसबाट जनताले प्राप्त गरेको उपलब्धि, आर्थिक अनुशासन, प्रहरी कवाज, जनतासँगको सम्बन्ध, नेतृत्व क्षमतालगायतका विषयलाई आधार मानेर मूल्यांकन गरिएको थियो । छनोटका क्रममा देशभरका सबै जिल्लामा पुगेर कार्यक्षेत्रमा खटिएका प्रहरीहरूको कार्यक्षमता मूल्यांकन गरिएको थियो । मूल्यांकनका क्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले काम र कार्यक्षमताका आधारमा छनोट गर्न निर्देशन दिएका थिए । प्रहरीमा उत्कृष्ट कार्यालय घोषणा हुनुलाई निकै गौरवको विषय मान्ने गरिएको छ ।