सार्वजनिक सवारी चालकको आँखा परीक्षण

आनन्द पोखरेल
चितवन, १७ असोज । भरतपुर आँखा अस्पताल र लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बिटु को आयोजनामा सार्वजनिक सवारी चालकहरुको लागि दुई दिने नेत्र परीक्षण सुरु गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको समन्वयमा गरिएको नेत्र परीक्षणमा सार्वजनिक यातायातका सवारी चालकहरुको आँखा परीक्षण गरिएको थियो । भरतपुरको केन्द्रीय बसपार्कमा आयोजना गरिएको नेत्र परीक्षणमा चितवन हुँदै सञ्चालन हुने सम्पूर्ण सार्जजनिक यात्रुबहाक बसका चालकहरुको आँखा परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाले बताए ।
सवारी चालकहरुको आँखा कमजोर भएको कारण पनि सवारी दुर्घटना हुनसक्ने भन्दै ट्राफिक प्रहरीको सक्रियतामा आँखा परीक्षण सुरु गरिएको भरतपुर आँखा अस्पतालले जनाएको छ । एउटा सवारी चालकको हातमा कम्तीमा पनि ४० जना यात्रुको जीवन हुने भएकाले सो चालक स्वास्थ्य हुनुपर्ने भन्दै आफूहरुले नेत्र परीक्षण कार्यक्रमको आयोजना गरेको लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बि टु का गभर्नर एमजीएफ लायन घनश्याम भट्टराईले बताए ।
चितवन हुँदै पूर्व, पश्चिम, काठमाडौँ र पोखरा जाने सम्पूर्ण सार्वजनिक सवारी साधनका चालकलाई केन्द्रीय बस पार्कभित्र बस लैजान लगाएर निशुल्क रुपमा नेत्र परीक्षण गर्दै पठाइएको छ । आँखा कमजोर भएका सवारी चालकहरुलाई भने औषधि र चस्माको प्रयोग गर्न आग्रह गरिएको थियो । आँखा परीक्षणमा भरतपुर आँखा अस्पतालका डाक्टर तथा आँखा सम्बन्धी अध्ययन गर्दै आएका विद्यार्थीहरुले आँखा परीक्षण गरेका थिए ।
चालकहरुको आँखाको कलर भिजन र आँखाको क्षमता चेकजाँच गरिएको थियो । यसरी सवारी चालकको आँखा परीक्षण गर्दा सवारी साधनबाट हुने दुर्घटनाबाट जोगिन सकिने सवारी चालक राजेन्द्र प्रसाद गैरेले बताए ।