छुट्टै अस्पतालको माग

गैंडाकोट, १७ असोज । गैंडाकोटका निवृत्त शिक्षकहरुले आफूहरुलाई पनि निजामति कर्मचारीको जस्तै अस्पताल चाहिने बताएका छन् ।
नेपाल सेवा निवृत्त शिक्षक समाज गैंडाकोटको आयोजनामा सोमबार गैंडाकोटमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा निवृत्त शिक्षकहरुले शिक्षकहरुका लागि समेत अस्पताल भएमा उपचारमा सहज हुने बताए । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै निवृत्त शिक्षक गोविन्दराज विनोदीले देशलाई योगदान पु¥याए बापत निवृत्त शिक्षकहरुलाई कदर गर्नुपर्ने बताए । युवा अवस्था विद्यार्थीलाई पढाउँदैमा सकिने गरेको उल्लेख गर्दै विनोदीले निजामति कर्मचारीको भत्ता बढाउँदा निवृत्त शिक्षकहरुलाई भने कुनै वास्ता नगरिएको विनोदीले गुनासो गरे ।
कार्यक्रममा नेपाल निवृत्त शिक्षक समाज गैंडाकोटका अध्यक्ष सरदचन्द्र पण्डितले शिक्षण पेशाबाट निवृत्त भएपछिको खाली समयको सदुपयोग गर्न आफूहरुले संस्था गठन गरेको बताए । गैंडाकोट नगरपालिकालाई लक्षित गरेर संस्थाको स्थापना गरिएको भएपनि भविष्यमा संस्थालाई जिल्लाव्यापी बनाउने आफूहरुको तयारी रहेको पण्डितले बताए । बुढेसकालमा दिन बिताउन गाह्रो हुँदा आफूहरुको समाज भएपछि सुखदुख बाँड्न, परस्पर सहयोग र सद्भाव बाँड्न समेत सहज हुने पण्डितको भनाइ थियो ।