सार्वजनिक सवारीको भाडादर टाँसियो

चितवन, १७ असोज । नेपाल सरकारले गत माघ २४ गते तोकेको सार्वजनिक सवारी साधनको भाडादरलाई कडा रुपमा पालना गराउने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नेपाल सरकारले तोकेको भडादर भन्दा बढी भाडा लिएको भेटिएमा सवारी ऐन अनुसार कारबाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक कृष्ण ठकुरीले बताए । नेपाल सरकारले तोेकेको भाडादर भन्दा बढी भाडा यात्रुले तिर्न नपरोस् भनेर ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानमा भाडादर सहितको फ्लेक्स बोर्ड राखेको छ । लामो रुटको सवारी साधनको भाडा दर भरतपुरमा रहेको केन्द्रीय बस पार्क र नारायणगढको पोखरा बसपार्कमा राखिएको छ ।
त्यस्तै छोटो दुरीको सवारी साधनको भाडा दर भने केन्द्रीय बसपार्क र चौबिसकोठीमा राखिएको छ । सरकारले तोकेको भाडादर भन्दा बढी भाडा कुनै सार्वजनिक सवारी साधनले लिएमा प्रहरीको १०० नम्बरमा फोन गर्न समेत प्रनानि ठकुरीले आग्रह गरे । त्यसैगरी, दसैँको समयमा यात्रुहरुलाई ठग्ने प्रवृत्ति बढ्ने भएकोले समेत यात्रुहरुको चाप बढी हुने ठाउँमा ट्राफिक प्रहरी परिचालन गरि नागरिक सहायता कक्ष स्थापना गरिएको र उक्त स्थानमा समेत यात्रुले आफ्ना गुनासो तथा उजुरी राख्न सक्ने ठकुरीले बताए ।