चाडपर्वलाई ध्यान दिँदै विशेष सुरक्षा योजना

आनन्द पोखरेल
चितवन, १७ असोज । जिल्ला प्रहरी कार्यालय चितवनले चाड पर्वलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना लागू गर्ने तयारी गरेको छ ।
चाड पर्वमा हुनसक्ने विभिन्न अपराधिक क्रियाकलाप नियन्त्रण गर्नको लागि भन्दै चितवन प्रहरीले असोज २० गतेदेखि कात्तिक २० गतेसम्म एक महिने विशेष सुरक्षा योजना लागू गर्ने तयारी गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनमा पत्रकार सम्मेलनको आयोजना गरि चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त बहादुर कुँवरले विशेष सुरक्षा योजनाको लागि जिल्लामा चार सय १६ जना प्रहरी परिचालन गरिने बताए । विशेष सुरक्षा योजना अन्तर्गत साइकल गस्ती, सादा पोशाकमा प्रहरी परिचालन, मोटरसाइकल गस्ती लगायतका गस्ती गरिने कुँवरले जानकारी दिए । Nepali-Police2
‘राजमार्गमा हुने चोरी डकैती निरुत्साहित गर्नु, राजमार्ग निर्वाध रुपमा सञ्चालन गर्नु, रातको समयमा हुने डकैती जबर्जस्ती तथा चोरीका घटना रोकथाम नियन्त्रण गर्नु, जुवातास, लंगुरबुर्जा खेल्ने खेलाउने सामाजिक विकृति रोकथाम तथा नियन्त्रण गर्नु विशेष सुरक्षा योजनाको मुख्य उद्देश्य हो’ प्रहरी उपरीक्षक कुँवरले भने, –‘यातायात क्षेत्रमा हुने अनियमितता तथा बढी शुल्क लिने कार्यलाई समेत नियन्त्रण गर्न विशेष सुरक्षा योजनाले मद्दत पुग्नेछ ।’ योजना अवधि भर राजमार्गमा चल्ने सवारी साधनहरुलाई आफ्नो जिम्मेवार क्षेत्रमा स्कर्टिङ गर्ने, सादा पोशाकमा खटिएका प्रहरीले बैँक तथा वित्तिय संघ संस्था, बढी आर्थिक कारोबार हुने स्थानहरुमा अनुगमन गर्ने कुँवरले बताए ।
चोरी लुटपाट जस्ता घटना हुन नदिन जिल्लामा मोटरसाइलकमा दुई जनाका दरले ‘क्विक रेस्पोन्स टिम’ २४ सै घण्टा परिचालन गर्ने, यात्रुको समस्या तथा काउन्टरबाट प्रदान गरिने सेवालाई व्यवस्थीत पार्न समेत दसैँ तिहारमा प्रहरी परिचालन गरिने प्रहरीको भनाइ छ । दिवा तथा रात्रिकालिन सवारी साधनलाई प्रहरीद्वारा स्कर्टिङ गर्ने, टिकटको आकस्मिक चेकजाँच गर्ने, खाद्य सामग्रीमा हुनसक्ने कालोबजारी तथा कृत्रिम अभावलाई निरुत्साहन गर्न अनुगमन गर्ने कुँवरले बताए । केन्द्रीय बसपार्क, नारायणगढको पुलचोक, पोखरा बसपार्क र मुग्लिङमा यातायात व्यवसायीका प्रतिनिधि ट्राफिक प्रहरी समेतको सहभागितामा यात्रु सहायता कक्षको व्यवस्था गरिसकिएको समेत कुँवरले जानकारी दिए ।
प्रहरीले विशेष सुरक्षा योजनाको लागि रातको समयमा सवारी साधनमा हुनसक्ने लुटपाट नियन्त्रणको लागि सवारी स्कर्टिङमा १४ जना जुनियर प्रहरी अधिकृत सहित ५६ जनाको प्रहरी टोली परिचालन गरिने कुँवले बताए । त्यस्तै, जिल्लाका मह¤वपूर्ण स्थानको सुरक्षाका लागि १६ जना जुनियर प्रहरी अधिकृत सहित एक सय नौ जना, मोबाइल ड्युटीका लागि छ जना सिनियर प्रहरी अधिकृत सहित ८० जना तथा विभिन्न स्थानको सुरक्षा संकलनका लागि २३ जना सादा पोशाकका प्रहरी परिचालन गरिने कुँवरको भनाइ छ ।
आकस्किम रुपमा प्रहरी प्ररीचालन गर्नको लागि जिल्लामा दुई वटा क्यूआरटी टोली परिचालन गरिने जानकारी दिँदै प्रहरी उपरीक्षक कुँवरले क्यूआरटीमा ३३ जना प्रहरी तथा आकस्मिक चेकजाँचको लागि ट्राफिक प्रहरी सहित २९ जना परिचालन गरिने जानकारी दिए । त्यस्तै, १८ जना जुनियर प्रहरी अधिकृतको नेतृत्वमा जिल्लामा ८६ जना प्रहरी पैदल गस्तीको लागि तयार गरिएको कुँवरले बताए । ‘विशेष सुरक्षा योजनाको लागि जिल्लामा भएका प्रहरी परिचालन गर्नेछौँ’ प्रहरी उपरीक्षक कुँवरले भने, –‘जिल्लाको प्रहरीले नपुगेको अवस्थामा हामीले अञ्चल तथा क्षेत्रसँग समन्वय गरेर थप प्रहरी परिचालन गर्नेछौँ ।’
नारायणगढ मुग्लिङ सडक खण्डलाई सहज बनाउनका लागि सडकमा भएका खाल्डाखुल्डी पुर्न लगाइएको कुँवरको भनाइ थियो । आकस्मिक रुपमा सडक अवरुद्ध भएमा तुरुन्त सञ्चालनमा लिएर आउनको लागि मुग्लिङ र जुगेडी तर्फ स्काइभेटर राखिने, जुगेडी र अस्थायी प्रहरी पोष्ट सिमलताललाई अधिक रुपमा परिचालन गर्ने समेत कुँवरले बताए । मुग्लिङ नारायणगढ सडकमा यात्रुबहाक सवारी साधन बढीमा दुई घण्टाभित्रमा पार गरिसक्ने गरि व्यवस्थीत गर्ने समेत कुँवरको भनाइ छ ।