नयाँ भाडादर लागू गर्न निर्देशन

चितवन, १३ असोज । चितवन जिल्ला भित्र तथा चितवन जिल्लाबाट सञ्चालन हुने सवारी साधनहरुमा नयाँ भाडादर एक हप्ताभित्र लागू गर्नको लागि सम्पूर्ण यातायात व्यवसायीहरुलाई निर्देशन दिइसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित भाडादर निर्धारण समितिले तयार पारेको भाडादर एक हप्ताभित्रमा लागू नगरेमा सवारी ऐन अनुसार कारबाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक राजन भेटवालले जनाएका छन् । बिहीबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भेटवालले भरतपुर भित्र सञ्चालनमा रहेका इलेक्ट्रोनिक्स रिक्सा, म्याजिक तथा अस्थायी रुटमा सञ्चालन भएका सवारी साधनमा नयाँ भाडा दर तत्काल लागू गर्न निर्देशन दिएका हुन् ।
तोकिएको नयाँ भाडादर सम्पूर्ण सवारी साधनमा प्रष्ट देखिने गरि टाँस्नुपर्ने समेत भेटवालले जनाए । नयाँ भाडादरलाई ट्राफिक प्रहरीले केन्द्रीय बसपार्क, चौबिसकोठी, लायन्सचोक, पुलचोक, पोखरा बसपार्कलगायतको ठाउँमा टाँस्ने समेत भेटवालले जानकारी दिए । सार्वजनिक सवारी साधनसँग सम्बन्धित सबै सञ्चालक, व्यवसायी, चालक, परिचालक, सहयोगी एवम् यात्रुले सार्वजनिक यातायात आचार संहिता २०६७ पूर्ण रुपमा पालना गर्नुपर्ने, विद्यार्थी, अपाङ्ग र जनआन्दोलनका अशक्त घाइते तथा जेष्ठ नागरिकलाई तोकिएको दरले सहुलियत दिनुपर्ने भेटवालले बताए ।
दुर्घटना न्यूनीकरण तर्फ विशेष ध्यान दिनुपर्ने, चालक, परिचालकहरुले अनिवार्य रुपमा परिपयपत्र झुण्डाउनुपर्ने भेटवालको भनाइ छ । तोकिएको भाडा भन्दा बढी भाडा नलिनको लागि सम्पूर्ण यातायात व्यवसायीलाई आग्रह गर्दै प्रहरी निरीक्षक भेटवालले यदी कुनै सवारी साधनले बढी भाडा लिएमा यातायात महासंघले समेत कारबाही गर्ने बताए ।