नेपालको एक सय ४७ हेक्टरमा पुष्प खेती

करुणा देवकोटा
चितवन, १३ असोज । नेपालमा व्यवसायी रुपमा पाँच सय ६१ जनाले पुष्प खेती गरेका केन्द्रीय तथ्यांक विभागले जनाएको छ । केन्द्रीय तथ्यांक विभाग कृषि तथा पशुपंक्षी गणना शाखाले बिहीबार चितवनको नारायणगढमा आयोजना गरेको व्यावसायिक पुष्प खेतीको विवरण कार्यक्रममा शाखाका निर्देशक अम्बिका बस्यालले नेपालमा पाँच सय ६१ व्यवसायीले वार्षिक ६७ करोड १४ लाख ४६ हजार रुपैयाँ बराबरको फूल बिक्री गर्दै आएको बताए ।
मौसमी फूलहरु एक करोड पाँच लाख ७७ हजार गोटा उत्पादन हुँदै २२ करोड १७ लाख ४५ हजार रुपैयाँ आम्दानी हुने गरेको बस्यालले बताए । नेपालको कुल एक सय ४७ हेक्टर क्षेत्रफलमा पुष्प खेती हुँदै आएकोमा लुज फ्लावर ४७ हेक्टर मौसम÷वहुवर्षे÷आलांकारिक फूल खेती ४३ हेक्टर, कट् फ्लावर ३८ हेक्टर र १७ हेक्टरमा फूलका बीउहरु उत्पादन हुँदै आएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । फूल खेतीको जानकारी गराउँदै प्रदेश नम्बर ३ मा सबैभन्दा बढी तीन सय ८१ जनाले व्यावसायिक पुष्प खेती गर्दै आएका जानकारी दिए ।
प्रदेश १ मा ६८, प्रदेश २ मा ५४, प्रदेश ४ मा २२, प्रदेश ५ मा २४ र प्रदेश ६ मा २ र प्रदेश ७ मा १० जनाले व्यावसायिक पुष्प खेती गर्दै आएको बस्यालले जानकारी दिए । २०७२ असार मसान्तसम्म गरेको सर्वेक्षणको आधारमा दुई सय ७९ जना व्यवसायीले आफ्नो प्रमुख बालीको रुपमा मौसमी, बहुवर्षे फूल खेती गर्दै आएका, ४७ जनाले कट फ्लावर व्यवसायी, दुई सय २० जनाले लुज फ्लावर, १४ जनाले गार्डेन दुबो र एक जनाले फूलका बिरुवाहरु उत्पादन गर्दै आएको बस्यालले जानकारी दिए ।
नेपालमा फूल खेतीको सम्भावना भएपनि किसानहरुको लागि लक्षित कार्यक्रमहरु ल्याउन नसकिएको बस्यालले बताए । नेपालमा पुष्प खेतीको अवस्थाका बारेमा तथ्यांक विभागले चित्रण गर्ने गरेको बताउँदै त्यसैको आधारमा सरकारले पुष्प खेती प्रवद्र्धन गर्न कार्यक्रम ल्याउन मद्दत पुग्ने बस्यालको भनाइ थियो ।
केन्द्रीय तथ्यांक विभागबाट तथ्यांक लिन जाने क्रममा धेरैले झुटो तथ्यांक दिने गरेको कार्यालयका तथ्यांक अधिकृत ईश्वर केसीले बताए । कार्यालयले लिने व्यक्तिगत विवरणहरुमा गोपनियता हुने भन्दै आफूसँग भएको सम्पूर्ण विवरणहरु सहि रुपमा दिएमा राष्ट्रिय योजना आयोगलाई योजना बनाउन सहज हुने केसीको भनाइ थियो ।
कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय चितवनका बागवानी विकास अधिकृत धनबहादुर थापाले चितवनमा कार्यालयले पुष्प खेती प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम ल्याएको बताए । पुष्प व्यवसायी किसानका तर्फबाट पुष्प व्यवसायी प्रकाश पन्तले व्यवसायीहरुलाई तालिम र सीप प्रदान गर्न सकेको खण्डमा पुष्पखेती अझै प्रवद्र्धन हुने बताए । कार्यक्रममा तथ्यांक कार्यालय चितवनका प्रमुख जीवनाथ आचार्यले स्वागत मन्तव्य राखेका थिए ।