खोज र नष्ट गर अभियान गरिने!

चितवन, १३ असोज । चितवनमा एक महिनामा नै ३४ जनामा डेंगु देखिएपछि डेंगु नियन्त्रणका लागि अभियान थालिने भएको छ । असोज ११ गतेसम्म ३४ जनामा डेंगु भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
त्यसैगरी, पश्चिम चितवनको मेघौलीकी एक महिलामा एक साता अगाडि नेपालमा नै पहिलो पटक चिकनगुनिया समेत देखिएको छ । जिल्लामा एक्कासी डेंगुको प्रकोप बढेपछि डेंगु तथा चिकनगुनिया रोग नियन्त्रण सम्बन्धी लामखुट्टेको बासस्थान खोजी गरि लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्न लागिएको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए ।
बिहीबार कार्यालयमा आयोजना गरिएको जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रममा भदौ १६ देखि १८ गतेसम्म भरतपुर नगरपालिका र रत्ननगर नगरपालिका केही वडामा खोज र नष्ट गर कार्यक्रम सञ्चालन गर्न लागिएको केसीले जानकारी दिए । भरतपुरको साविकको पहिटानी गाविसमा १६ र १७ गते मात्र खोज र नष्ट गर अभियान सञ्चालन हुनेछ भने अन्य १, २, ३, ४, ९, १०, ११ र १२ नम्बर वडा तथा रत्ननगर नगरपालिकाको वडा नम्बर १, २, ३, ४ र १२ नम्बर वडामा भदौ १६ देखि १८ गतेसम्म खोज र नष्ट गर अभियान सञ्चालन हुनेछ । अभियानका लागि जिल्ला भरी ९० जना महिला स्वास्थ्य स्वयम्सेविका परिचालन भएका केसीले जानकारी दिए ।
चितवनमा भरतपुर अस्पतालमा चार जना, नारायणी सामुदायिक अस्पतालमा १६ जना, चितवन मेडिकल कलेजमा ११ जना र रत्ननगर अस्पतालमा तीन जनालाई डेंगु देखिएको थियो । भरतपुर अस्पताल र रत्ननगर अस्पतालबाट डेंगुको निशुल्क परीक्षण तथा औषधि उपचारको व्यवस्था गरिएको केसीले जानकारी दिए । डेंगुका कारण सन् २०१० मा पाँच जना, २०११ मा नवलपरासीको गैंडाकोटका एक जना र गत आर्थिक वर्ष २०७२÷७३ मा चितवनकै पटिहानीमा एक जनाको मृत्यू भएको थियो ।