उपभोग्य वस्तुमा उत्पादन मिति नै छैनन्

आनन्द पोखरेल
चितवन, १२ असोज । चितवनको बजार अनुगमनका क्रममा अधिकांश दैनिक उपभोग्य वस्तुहरुमा उत्पादन मिति, बिक्री मूल्य, म्याद गुज्रिने मिति नभएका सामानहरु भेटिएका छन् ।
चाडपर्व नजिकिएसँगै चितवनमा तीव्र पारिएको बजार अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तुहरु जनस्वास्थ्यलाई वास्ता नगरि बजारमा पठाउने गरेको पाइएको हो । बुधबारको बजार अनुगमनका क्रममा नारायणगढ बजारमा विभिन्न खाद्य वस्तुहरुमा म्याद गुज्रिएको सामान, उत्पादन मिति नभएको सामान पाइएको छ । बुधबार नारायणगढ क्षेत्रका ११ वटा दैनिक उपभोग्य सामान बिक्री गर्ने होलसेल पसलको अनुगमन गरिएको थियो ।

फाइल तस्बिर !
फाइल तस्बिर !

अनुगमनका क्रममा आनन्द मार्गमा रहेको पुजा ट्रेडर्सबाट म्याद गुज्रिएको सस भेटिएको छ । अमरपाली बायोटेक इन्डष्ट्रिजबाट उत्पादित मुम्स ब्राण्डको ससको म्याद गुज्रिएको पाइएको हो । उक्त ससलाई नमुना परिक्षणको लागि समेत अनुगमन टोलीले क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौँडामा पठाएको छ ।
ल्याब परीक्षण गर्दा म्याद गुज्रिएरको ससबाट जनस्वास्थ्यमा प्रभाव पार्ने भेटिएमा खाद्य ऐन अन्तर्गत सस बिक्रेतालाई कारबाही गरिने खाद्य निरीक्षक नविन देउजाले जानकारी दिए । त्यसैगरी, नारायणगढकै सुरेश एण्ड ब्रदर्श सप्लायर्सबाट उत्पादन मिति, बिक्री मूल्य, म्याद गुज्रिने मिति नभएको सावदाना भेटिएको छ । सच्चामोती ब्राण्डको दुई ग्राम सावदाना नक्कली भएको हुनसक्ने भन्दै अनुगमन टोलीले गुणस्तर चेकजाँचको लागि पठाएको छ ।
त्यस्तै, कालिका सप्लायर्सबाट म्याद गुज्रिएको कुरमुरे, किसन सप्लायर्सबाट म्याद गुज्रिएको जस्मीन ब्राण्डको मसला नष्ट गरिएको छ । चाडपर्वसँगै दैनिक उपभोग्य वस्तुहरुमा ग्राहकको माग बढ्ने भएकाले बिक्रेताले कमसल सामान बिक्री गर्न सक्ने भन्दै स्थानीय प्रशासनले अनुगमनलाई प्रभावकारी बनाउँदै लैजाने जनाएको छ । अनुगमनका क्रममा कुनै व्यवसायीले कालोबजारी गरेमा, अनुचित लाभ लिनको लागि गुणस्तरहिन सामग्री बिक्री गरेको पाइएमा चितवनका प्रमुख जिल्ला अधिकारीले अनुगमनमा खटिने टोलीको प्रमुख व्यक्तिलाई अनुगमन स्थलमा नै कारबाही गर्न सक्ने अधिकार प्रदान गरेर बजारमा पठाएका छन् ।