जिल्ला प्रशासन कार्यालय चितवनको भवन उद्घाटन

चितवन, १२ चैत । जिल्ला प्रशासन कार्यालय चितवनको नव निर्मित तीन तले भवनको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन् ।
भवन उद्घाटनका क्रममा प्रधानमन्त्री दाहालले चितवन जिल्लामा भएको विकासको गतिको तुलनामा यहाँ स्थापना भएका कार्यालयको विकासको गति पनि त्यहि अनुपातमा हुनुपर्नेमा जिल्ला प्रशासन त्यस्तै भएको आफूले पाएको बताए । जिल्ला प्रशासनको नयाँ र आधुनिक भवन निर्माण गर्न सहयोग गर्ने पूर्व प्रजिअ, स्थानीय राजनीतिक दलका व्यक्तिहरु, नागरिक समाज सबैलाई प्रधानमन्त्री दाहालले धन्यवाद ज्ञापन गरे ।
img_7381

लामो संघर्षपछि प्राप्त भएको संविधानलाई कार्यान्वयन गर्ने एउटा प्रमुख कार्यभार सबै नेपालीको भएको दाहालले बताए । आफू प्रधानमन्त्री भएपछि संविधानलाई सर्वमान्य बनाउनको लागि पहिलो प्राथमिकतामा राख्दै असन्तुष्ट र आन्दोलनरत दललाई समेटेर संविधानलाई कार्यान्वयन गराउन लागि परेको प्रधानमन्त्री दाहालको भनाइ थियो । अहिले राष्ट्र सम्भावना र चुनौतीको बीचमा रहेको बताउँदै दुवै छिमेकी मुलुकसँग राम्रो सम्बन्ध राखेर अगाडि बढ्नुपर्ने दाहालले बताए ।
चार करोड ६५ लाख ५५ हजार रुपैयाँमा गत चैतमा निर्माण सम्पन्न भएको भवनको बुधबार प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् । नयाँ प्रशासनिक भवन निर्माण सम्पन्न भएपछि पुरानो भवनलाई भत्काउनको लागि टेन्डर दिइसकिएको र कार्यालयको सम्पूर्ण कामकाज नयाँ भवनबाट सुरु गरिएको चितवन प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिए ।
प्रशासनिक भवन तथा प्रजिअ आवास भवन निर्माणको लागि छ करोड ८६ लाख रुपैयाँको लागत स्टीमेट बनाइएको भएपनि चार करोड ६५ लाख रुपैयाँमा भवन निर्माण सम्पन्न भएको हो । तीन तले २७ कोठे पक्की भवनमा प्रत्येक तलामा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय निर्माण गरिएको सिंहले जानकारी गराए । भुईँ तलामा नागरिकता, पासपोर्ट फाँट सहित आठ कोठा, पहिलो तलामा प्रजिअ कक्ष र इजलास सहित १० कोठा तथा दोस्रो तलमा नौ वटा कोठा रहेका छन् ।
जिल्ला प्रशासन कार्यालयको नव निर्मित भवन उद्घाटन कार्यक्रमको अध्यक्षता क्षेत्रीय प्रशासक विनोद केसीले गरेका थिए ।