पर्यटन दिवसमा आँपटारीदेखि वागीश्वरीसम्म सरसफाई

सूर्य कडेँल
चितवन, ११ असोज । ३७ औँ विश्व पर्यटन दिवसको अवसरमा मंगलबार देवघाटधाम प्रवेशद्वार आँपटारीदेखि वागीश्वरी आध्यात्मिक परिसरसम्म सरसफाई गरिएको छ ।parayata-diwas-ko
सबैका लागि पर्यटन, विश्वव्यापी पहुँचको प्रवद्र्धन भन्ने नारासाथ यसवर्षको पर्यटन दिवस देशभर मनाइएको छ । चितवनमा जिल्ला विकास समिति र चितवन पर्यटन विकास समितिले संयुक्त रुपमा सरसफाई कार्यक्रम आयोजना गरी दिवस मनाएका हुन् । कार्यक्रमका सहभागीहरुले सडकमा फ्याँकिएका फोहोर संकलन गर्नुकासाथै सडक दायाँबायाँका झाडी र बुट्यान काटेका थिए ।
कार्यक्रमका सहयोगी संस्थामा देवघाट क्षेत्र विकास समिति, प्राकृतिक योग चिकित्सालय वागीश्वरी, जलदेवी सामुदायिक वन, पर्यटन पत्रकार मञ्च, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय आँपटारी र जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर रहेका छन् । कार्यक्रम समापनका अवसरमा बोल्दै प्रमुख अतिथि जिविस चितवनका स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले देवघाटधाम प्रवेशद्वार आँपटारीको दायाँबायाँ उद्यान निर्माण गरिने बताए ।
चितवन पर्यटन विकास समितिका अध्यक्ष दिलिप मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बद्री अधिकारी, महासचिव विश्वराज सुवेदी, देवघाट क्षेत्र विकास समितिका नवनियुक्त अध्यक्ष टंकनाथ पौडेल, चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीले जिल्लामा पर्यटन विकासका लागि प्रतिवद्धता जनाएका थिए ।