कात्तिक १ देखि विकास रनिङ सिल्ड हुने

करुणा देवकोटा
चितवन, १० असोज । ‘स्वस्थ्य युवा स्वच्छ खेल, देश विकासमा हाम्रो मेल’ भन्ने नारा सहित चितवनमा टुबोर्ग विकास शिल्ड फुटबल नकआउट प्रतियोगिता हुने भएको छ ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको १२ औं संस्करण बारे जानकारी गराइएको हो । विकास शिल्ड समिति चितवनको आयोजनामा हुन लागेको प्रतियोगिता बारे जानकारी गराउँदै प्रतियोगिताका संयोजक सिद्धार्थलाल चुकेले कात्तिक १ गतेदेखि १३ गतेसम्म नारायणगढको क्याम्पाचौरमा प्रतियोगिता आयोजना हुने बताएका हुन् । एक लाख ५० हजार भन्दा बढि दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको यस प्रतियोगितामा १४ वटा समूहहरु सहभागी हुंदै छन् ।img_7141
प्रतियोगितामा सहभागिता जनाउन नेपालका ११ वटा राष्ट्रिय टोली सहित भारतका तीन वटा समूहहरु सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताका मैदान व्यवस्थापन उपसमितिका संयोजक शान्तकुमार पियाका अनुसार पिफाको नियमानुसार प्राविधिकको सहयोगमा खेल मैदानको नाप जांच, मैदान वरपर सरसफाई, खाल्टो परेका तथा घांस नभएका स्थानमा चपरी राख्ने आदि कामहरु सम्पन्न भइसकेको छ ।
प्रतियोगितामा विजेता पुरस्कार अन्तर्गत रनिङ शिल्ड, मेडल र तीन लाख रुपैयाँ प्रदान गरिने छ । यस्तै, उप विजेतालाई ट्रफी, मेडल र एक लाख ५० हजार रुपैयाँ पुरस्कारको व्यवस्था रहेको छ । यस्तै, फेयर प्ले अवार्ड समूहलाई ट्रफी र नगद २५ हजार रुपैयाँ, प्रत्येक म्याचको उत्कृष्ट खेलाडीलाई प्रत्येक दिन १० हजार रुपैयाँ, म्यान अफ दि टुर्नामेन्टलाई नगद २५ हजार र सर्वाधिक गोलकर्तालाई नगद १५ हजार रुयैयाँ पुरस्कार राशीको व्यवस्था गरिएको छ ।
विकास शिल्ड समिति नारायणगढका अध्यक्ष श्याम कुमार पियाका अनुसार यस अन्तराष्ट्रिय स्तरको प्रतियोगिताले अब चितवनमा जंगल सफारी गर्न र चितवनको सौन्दर्य स्पर्श गर्न मात्र नभई खेलकुदको क्षेत्रमा चितवनले गर्न सक्ने व्यवस्थापन कार्यकुशलता, अतिथि सत्कार र आत्मानिर्भरताको परिचय लिन समेत खेलाडी एवं दर्शकहरु यहां आइरहने छन् । यस प्रतियोगिता सम्पन्न गर्न कुल ६७ लाख ४३ हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान रहेको छ ।