यसरी भइरहेको छ त्रिशुलीमा हराएका पूर्वगृहमन्त्री र उनका भाइहरुको खोजी (भडियोसहित)

शिव आचार्य
चितवन, असोज १० । त्रिशुली नदीमा वेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित उनका भाइहरुको खोजीकार्य तिब्र पार्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएपछि सोमबार बिहानदेखि हिजोको भन्दा दुई गुणा सुरक्षाकर्मीहरु त्रिशुली किनारमा परिचालित छन्।

 

14438948_1196956040377562_844911879_oमुग्लिनबाट काठमाडौं जाँदै गरेको बा ९ च १५३१ नम्बरको स्कार्पियो कार आइतबार साँझ पाँच बजेतिर घोप्टेभिर भन्ने स्थानबाट करिब तीन सय मिटर तल त्रिशुली नदीमा खसेको खबर पाएपछि प्रारम्भिक चरणमा एक सय सुरक्षाकर्मीहरु त्यहाँ पुगेका थिए।

तर, कारमा रहेका पूर्वगृहमन्त्री घिमिरेसहित ३ जना यात्रु त्रिशुलीको प्रवाहमा हराइरहेकाले उनीहरुको खोजी कार्य अझै चुस्त ढङ्गमा गर्नु पर्ने भयो। ‘ त्यसैले पनि अहिले समूहगत रुपमा खोजी कार्य थालिएको छ’ चितवन जिल्ला प्रहरी प्रमुख बसन्त कुँवरले सोमबार बिहान भने, ‘ घोप्टेभिरदेखि तल्लो स्थानमा पार्ट–पार्ट भाग लगाएर गोताखोरहरु परिचालन गरिएको छ।’

चितवन प्रहरी प्रमुख कुँवर आफैं पनि ‘स्पट’मा खटिरहेका देखिन्छन्। उनले हराइरहेका पूर्वगृहमन्त्रीसहित उनका भाइहरुको खोजीका लागि नदीमा म्याग्नेट प्रयोग गरी जीप पत्ता लगाउने प्रयास भइरहेको तर पानीको बढ्दो बहावले गर्दा यो अनुक्रम सफल हुन नसकेको दुखेसो गरे।
अहिले मनकामना केवलकारदेखि झण्डै डेढ किलोमिटर दक्षिणतिरदेखि तल मुग्लीङ हुँदै नारायणगढको नारायणी पुलसम्मका किनारमा झण्डै दुई सय गोताखोरहरु ¥याफ्टीङमा व्यस्त देखिएका छन्। ‘हामीले हामीसँग उपलव्ध सबै प्रविधि र सिपको प्रयोग गरिरहेका छौं’ कुँवरले भने, ‘ खोजी कार्यमा सेना, जनपथ प्रहरी र शसस्त्र प्रहरी खटिएका छन्।’

हिजो मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्कदै गरेको घिमिरे परिवार सवार कार दुर्घटनामा घिमिरेकी आमा ८० वर्षीया चैत्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको मृत्यु भइसकेको छ। र, गाडी चालक बिष्णु राई भने बाँच्न सफल छन्।
तालिम केन्द्र कुरीनटारका प्रवक्ता एसपी गणेशबहादुर थापाका अनुसार समूहमा विभाजित भएर खोजी कार्यमा लागेका सुरक्षाकर्मीलाई ठाउँ ठाउँमा स्थानीयवासीले पनि सहयोग गरिरहेका छन्।
सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम केन्द्रका सात जनाको गोताखोर टोली हिजो रातीसम्म डुङ्गामा बसेर बेपत्ता व्यक्ति र गाडीको खोजी गरिरहेका थिए। बाटोबाट ‘लाइटिङ टावर’बाट उज्यालो दिने व्यवस्था गरेर अबेरसम्म खोजी कार्य जारी राख्दा पनि हराइरहेका पूर्वगृहमन्त्री र उनका भाइहरु फेला पर्न सकेका थिएनन्।