कृष्ण प्रसाद अधिकारी हत्या काण्डमा जिल्ला अदालत चितवनमा बहस सुरु

आनन्द पोखरेल
चितवन, ९ असोज । फुजेलका कृष्णप्रसाद अधिकारी हत्या काण्डमा मुछिएका व्यक्तिहरुका विरुद्धमा जिल्ला अदालत चितनवनमा बहस सुरु भएको छ ।
२०६१ जेठ २४ गते तत्कालिन नेकपा माओवादीका कार्यकर्ताहरुले अधिकारीको हत्या गरेका थिए । अधिकारीलाई नेपाली सेनाको सुराकी भएको आधारमा हत्या गरिएको बताइएको छ । पोष्ट मार्टम रिपोर्ट अनुसार अधिकारीलाई पछाडिबाट टाउकोमा तीन वटा गोली हानी हत्या गरिएको हो ।
कृष्णप्रसाद हत्यामा परिवारले रामप्रसाद अधिकारी सहित परशुराम पौडेल, जानुका पौडेल, मेघनाथ पौडेल, कालिप्रसाद अधिकारी, हेमलाल अधिकारी, सीता अधिकारी, बिष्णु तिवारी, शुभद्रा तिवारी, अर्का रामप्रसाद अधिकारी र रुद्र आचार्य विरुद्ध किटानी जाहेरी दिएका थिए । पूर्वी चितवनको रत्ननगरमा रहेका आफ्ना हजुरबुबालाई भेट गर्न गएका बेला कृष्णप्रसादको २०६१ जेठ २४ गते रत्ननगर १ बकुलहर चोकमा तत्कालिन विद्रोही माओवादी कार्यकर्ताले अपहरणपछि हत्या गरेका थिए ।
मृतकका बाबु नन्दप्रसाद अधिकारीले २०६१ जेठ २५ गते तीन जना बिरुद्ध किटानी जाहेरी र पछि २०६२ जेठ २६ मा ११ जना बिरुद्ध दाजु नुरप्रसादले किटानी जाहेरी दिएका थिए । पीडित परिवारले दिएको किटानी जाहेरी विरुद्ध अदालती प्रकृया सुरु नभएपछि मृतकका बाबु नन्दप्रसाद र आमा गंगामायाले आमारण अनसन थालेका थिए । अनसनकै क्रममा बाबु नन्दप्रसाद अधिकारीको मृत्यू भयो भने आमाले पुन आमरण अनसन थाल्दै अस्पतालबाटै अदालत समक्ष बकपत्र जाहेरी गरेपछि अदालतले आइतबारबाट सुनुवाई थालेको हो ।
आइतबार अदालती प्रकृया सुरु भएपछि पीडकहरुलाई हदैसम्म कारबाहीको माग गर्दै जिल्ला न्यायाधीवक्ता मणिराम न्यौपाने र सहन्यायाधीवक्ता उदयचन्द्र अधिकारीले बहस गरेका थिए । त्यसैगरी, जाहेरीवालाको तर्फबाट अधिवक्ताहरु बाबुराम गिरी, इन्द्र अर्याल, गोपालकृष्ण घिमिरे, दिनेश त्रिपाठी र पुष्पराज पौडेलले बहस गरेका छन् । सरकारबादी मुद्दा भएकाले आइतबार सरकारी वकिल तथा जाहेरीवालाले बहस गरेका थिए । आइतबार साँझसम्म जाहेरीवालाका तर्फबाट बहस भएको हुँदा प्रतिवादीका तर्फबाट सोमबार मात्र बहस हुने बताइएको छ ।
कृष्णप्रसाद अधिकारी हत्याकाण्डको मुद्दा छिनोफानो गर्ने जिम्मा १ नम्बर इजलाशका जिल्ला न्यायाधीस टेकनारायण कुँवरले पाएका छन् । सुनुवाई सकिएपछि फैसला गरिने बताउँदै कुँवरले आइतबार सुनुवाई नसकिएका कारण सोमबार पुनः सुनुवाई गरिने जानकारी दिए ।