नवलपरासीमा झाडापखाला फैलियाे

प्रेम क्षेत्री
गैंडाकोट, ९ असोज । नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ९ सिम्रेनीमा झाडापखला फैलिएको छ । शनिबार गाउँका करिब ७५ जनामा झाडापखला देखिएको थियो ।
आईतबार थप एक सय २५ जनामा झाडापखलाको संक्रमण देखिएको छ । सिम्रेनीमा झाडापखाला देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय तथा चोरमारा प्राथमिक केन्द्रबाट डाक्टर सहित छ जनाको टोली उक्त गाउँमा पुगेको छ । गाउँमा वितरित खानेपानीको पाईप काटिएपछि खानेपानीको अभावमा स्थानीयले खोला र खेतमा जमेको पानी खाँदा सो समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका वरिष्ठ जनस्वास्थ्य प्रशासक अरुणकुमार महतोले जानकारी दिए ।
उनले चेतनाको अभावले झाडापखला फैलिएको हुनसक्ने बताए । झाडापखलाबाट गाउँका सय घरधुरी प्रभावित भएपछि प्रविधिक सहतिको स्वास्थ्य टोली खटिएको हो । उनीहरुले गाउँमा नै उपचार गरिरहेका छन् । बिरामीहरुरुको अवस्थामा सुधार आएको र मानवीय क्षति भने नभएको महतोले बताए ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नवलपरासीको समन्वयमा आइतबार स्थानीय बासिन्दालाई पियुस र क्लोरिन झोल बाँडिएको जिल्लाका जनस्वास्थ्य निरीक्षक छवि गिरीले जानकारी दिए । पानी उमालेर खान र सरसफाईमा ध्यान दिन आग्रह गर्दै स्वास्थ्य शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको गिरीले जानकारी दिए ।