जनताको स्वास्थ्य सुरक्षाका लागि पत्रकारको भूमिका महत्वपूर्ण

गैंडाकाेट, ०९ असोज । जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख बरीष्ठ जनस्वास्थ्य प्रशासक अरुणकुमार महतोले जनताको स्वास्थ्य सुरक्षाका लागि पत्रकारको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

गैंडाकोटको सहज अस्पतालमा आइतबार आयोजित मिडिया अभिमुखीकरण कार्यक्रममा महतोले पत्रकारको महत्वपूर्ण भूमिका हुने भएकाले सकरात्मक तवरबाट स्वास्थ्य सुरक्षाका क्षेत्रमा कलम चलाउन आग्रह गरेका थिए । सहमति आयाम परियोजनाले नवलपरासीका १५ वटा गाविसमा सिमान्तकृत महिलाहरुको स्वास्थ्य तथा जिवीकोपार्जन सम्बन्धी कार्यक्रम गर्दै आएको छ । कार्यक्रम सञ्चालन पश्चात परियोजना लागू भएका गाविसहरुमा व्यक्तिगत तथा मौसमी स्वास्थ्य सरसफाई प्रति स्थानीयको चासो बढेको परियोजनाका कार्यक्रम संयोजक गणेश गिरीले बताए ।

परियोजनाले महिला उद्यमीको क्षमता अभिवृद्धिको काम समेत गर्दै आएको र परियोजनाले तरकारी खेती तथा पशुपालनमा जोड दिएको गिरीले बताए । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीका जनस्वास्थ्य निरीक्षक छवि गिरीले कालाजार, हात्तिपाइले, जापनीज इन्सेफ्लाइटिस, डेंगू तथा स्क्रब टाइफस जस्ता रोगको बारेमा जानकारी गराउँदै लामखुट्टको टोकाइबाट जोगिन सकियो भने त्यस्ता खालका रोगबाट जोगिन सकिने बताए । विगत पाँच वर्षदेखि नवलपरासी जिल्लामा हात्ती पाइले रोगको नयाँ बिरामी नदेखिएका र सन् २०२५ सम्म नेपालबाटै हात्ती पाइले रोग उन्मुलन गर्ने कार्यक्रम रहेको गिरीले बताए ।

यस वर्ष नयाँ देखिएको नयाँ रोग स्क्रब टाइफसबाट नवलपरासी जिल्लाका ४७ जना संक्रमति भएको गिरीले जानकारी दिए । सहमती आयाम परियोजनाको आयोजनामा भएको सो कार्यक्रममा चितवन नवलपरासीका २० जना पत्रकारको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका जनस्वास्थ्य निरिक्षक छविराज गिरी, सहज सामुदायिक अस्पतालका मेडिकल निर्देशक डा. कृष्णहरी खनाल, सहमती आयाम परियोजनाका कार्यक्रम संयोजक गणेशराज गिरीले स्वास्थ्य क्षेत्रको अवस्था र सञ्चालित कार्यक्रमबारे जानकारी गराएका थिए । कार्यक्रम सहज सामुदायिक अस्पतालका सचिव तीर्थराज रिमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।