नवचन्द्रमाको आठौँ साधारणसभा

चितवन, ८ असोज । भरतपुर १३ मा रहेको नवचन्द्रमा उपभोक्ता सहकारी संस्थाले आफ्नो आठौँ साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाका अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ ।
संस्थाको शेयर सदस्यहरुका छोराछोरीबाट एसएलसीमा सामुदायिक विद्यालयबाट उत्कृष्ट र संस्थागत विद्यालयबाट उत्कृष्ट एक एक जनालाई सम्मान गरिएको थियो । त्यसैगरी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणीलाई समेत आठौँ साधारणसभाका अवसरमा शनिबार सम्मान गरिएको हो । साधारणसभामा वयोवृद्ध स्थानीय समाजसेवी कुलप्रसाद पौडेल प्रमुख अतिथि रहेका थिए ।
साधारणसभा उद्घाटनका क्रममा पौडेलले चितवनबाट सहकारी सञ्चालनमा आएको भएपनि समय अनुसार सहकारी फस्टाउन नसकेको बताए । नेपालको गरिबी निवारणमा कमी ल्याउनको लागि सहकारीले मद्दत गरेको पौडेलको भनाइ थियो । सहकारी संस्थाहरुको स्थापनासँगै जनतामा बचत गर्ने बानीको विकास भएको पौडेलले बताए । कार्यक्रममा संस्थाका सहसचिव रामशरण प्याकुरेलले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष विष्णुप्रसाद सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभाका अवसरमा अभ्युदय बहुउद्देश्यीय सहकारी संस्थाका नारायणप्रसाद आचार्य, नेपाल रेडक्रस सोसाइटी शिवपुर उपशाखाका शिव सापकोटा, नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाका राजु गिरी, शेयर सदस्य हरिशरण पौडेललगायतले मन्तव्य राखेका थिए । नवचन्द्रमा उपभोक्ता सहकारी संस्थाका अध्यक्ष विष्णुप्रसाद आचार्यको अध्यक्षतामा भएको साधारणसभामा उपाध्यक्ष कुमारी पराजुलीले स्वागत मन्तव्य राखेकी थिइन् ।