तेस्रो राष्ट्रिय भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता सुरु

आनन्द पोखरेल
चितवन, ८ असोज । नेपाल ब्याडमिन्टन संघको तत्वाधान तथा चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा चितवनको भरतपुरमा तेस्रो राष्ट्रिय भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता २०७३ सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन भूमि सुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले गरेका थिए । प्रतियोगिता उद्घाटन गर्दै पाण्डेले आफू भूमि सुधार मन्त्री भए पनि खेलकुदको विकासमा व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि खेल क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाए । खेलकुलको विकास गर्न सकेको खण्डमा मात्र मुलुकलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन सकिने मन्त्री पाण्डेको भनाइ थियो ।
शनिबारदेखि सुरु भएको ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत विभिन्न तीन वटा इभेन्टहरु हुने आयोजकले जनाएको छ । भेट्रान्स समूह अन्तर्गत ४५ वर्षमाथिका व्यक्तिहरुले भाग लिएका छन् भने सुपर भेट्रान्स अन्तर्गत ५५ वर्ष माथिका व्यक्तिहरुको सहभागिता रहेको छ त्यस्तै मेन्स डबल अन्तर्गत समेत प्रतियोगितामा प्रतिष्पर्धी रहेका छन् । प्रतियोगितामा तीन वटा इभेन्टमा गरि नेपाल भरीबाट जम्मा ९१ टिम सहभागी भएका छन् ।
भेट्रान्सतर्फ ३४ टिम, सुपर भेट्रान्स तर्फ १२ टिम र मेन्स डबल तर्फ ४५ टिम सहभागी भएका कार्यक्रम संयोजक एवम् चितवन जिल्ला ब्याडमिन्टन संघका सचिव नारायण ढकालले जानकारी दिए । भरतपुरको कबर्ड हलमा सञ्चालन भइरहेको प्रतियोगितामा पहिलो हुनेले ३० हजार रुपैयाँ र ट्रफी, दोस्रो हुनेले २० हजार रुपैयाँ र ट्राफी तथा तेस्रो हुनेले १० हजार रुपैयाँ र ट्रफी पाउनेछन् ।