नेपालीहरुको चाडपर्वलाई मध्यनजर गर्दै चितवनमा दैनिक उपभोग्य वस्तुमा छुट दिइने

चितवन, ०७ असोज । नेपालीहरुको महान् चाड दसैँ, तिहार तथा छट पर्वलाई मध्यनजर गर्दै चितवनमा दैनिक उपभोग्य बस्तुहरुमा सहुलियत प्रदान गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार आयोजना गरेको बृहत छलफल तथा अन्तरकृया कार्यक्रममा व्यवसायीहरुले उपभोक्तालाई चाड पर्वमा छुट दिन सहमत भएका हुन् । व्यवसायहरुले दैनिक उपभोग्य वस्तुको अधिकतम बिक्री मूल्यमा २० प्रतिशतसम्म छुट दिने प्रतिवद्धता जनाए । साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय भरतपुरले समेत सस्तो बजार सञ्चालन गर्दै दैनिक उपभोग्य वस्तुमा उपभोक्तालाई सुपथ मूल्यमा सामान बिक्री गर्ने क्षेत्रीय प्रबन्धक बुद्धिविनोद दाहालले बताए । साल्ट ट्रेडिङले उपभोक्ताको लागि खुद्रा मूल्यमा आयोनुन प्रति किलो १६ रुपैयाँ, गुणस्तरीय चिनी प्रतिकिलो ८७ रुपैयाँ, त्यसैगरी चामल, चिउरा, दाल, मसला लगायतका सामग्रीमा सहुलियत प्रदान गरेर बिक्री सुरु गरिने दाहालले जानकारी दिए ।

कार्यक्रममा किराना व्यवसायी संघ नारायणगढका अध्यक्ष ईश्वरी प्रसाद खरालले आफूहरुले उपभोक्ताको हितलाई ध्यानमा राख्दै दैनिक उपभोग्य वस्तुमा २० प्रतिशतसम्म मूल्य घटाएर बिक्री गर्ने जानकारी दिए । किराना व्यवसायी संघल दैनिक उपभोग्य वस्तुको मूल्यसुचि प्रकाशित गरि त्यही अनुसार काम गर्ने खरालले बताए । त्यसैगरी, चाडपर्वलाई मध्यनजर गर्दै भाटभटेनी सुपरमार्केटले समेत दैनिक उपभोग्य वस्तुहरुमा १५ प्रतिशतसम्म छुट दिने जनाएको छ । सुपरमार्केटका प्रबन्धक विनोद भट्टराईले आफूहरुले बिक्री गर्दै आएको दुई सय ४१ प्रकारका दैनिक उपभोग्य वस्तुमा कात्तिक २२ गतेसम्म छुट प्रदान गरिने बताए । होटल व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार इमान्दु बरालले होटेलले मूल्यसूचि राख्नुपर्ने बताउँदै खाना खाने सयम निश्चित गराउन प्रशासनसँग आग्रह गरे । छलफलमा चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले प्रशासनले चाडवर्पको क्रममा बजार अनुगमनलाई तीव्रता दिएको बताए । चाड पर्वको बेलामा उपभोक्ताबाट धेरै गुनासो आएका कारण बजार अनुगमनका क्रममा कसैले अनुचित लाभ लिएको पाइएमा अनुगमन अधिकारीले तुरुन्त कारबाही गर्ने जिम्मा दिएर पठाएको सिंहले बताए ।