बैदेशिक रोजगारीमा जाने युवाहरुमा सुचना, सिप र न्यायमा पहुँच वृद्धी

नवलपरासी ०७ असोज । हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफले सुरक्षित आप्रवासन परियोजना लागुभएपछि नवलपरासीबाट बैदेशिक रोजगारीमा जाने युवाहरुमा सुचना, सिप र न्यायमा पहुँच वृद्धी भएको जनाएको छ । यद्दपी सुचनाको सदुपयोग नगर्दा युवाहरु ठगिने क्रम बढेको पनि जनाएको छ । नवलपरासीको कावासोतीमा आज आयोजित पत्रकार सम्मेलनमा हिकोडेफका कार्यकारी निर्देशक सुरविर स्थापितले जिल्लामा वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित बनाउने कार्य गर्ने संस्थाको रुपमा पहिचान भएको बताउनुभयो ।

हिकोडेफका परियोजना संयोजक रितुराम सोती मगरले अघिल्लो अघिल्लो आर्थीक वर्षमा आएका २९० केश मध्ये १२५ वटा समाधान गरिएको बताउनुभयो । बाँकी प्रमाणविनाका केश भएकाले समय लागेको उहाँको भनाई थियो ।

उहाँले १ वर्षको अवधिमा करिब १० हजारले सुचना लिएको र ४६ जनाले सिप सिकेर विदेश गएको बताउनुभयो । सामी÷हेल्भेटासकी जिल्ला संयोजक उमाकला शर्माले वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन पहल गरीरहेको बताउनुभयो । स्वीस तथा नेपाल सरकारको दुईपक्षिय साझेदारी तथा सामी÷हेल्भेटास स्वीस ईन्टरकोअपरेशन नेपालको सहयोगमा नवलपरासीमा फेब्रुअरी २०१४ देखी सुरक्षित आप्रवासन परियोजना सञ्चालित छ । हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफले दाउन्ने पुर्व र ईन्द्रेणी सामाजिक विकास मञ्चले दाउन्ने पश्चिमको क्षेत्रमा परियोजना मार्फत काम गरीरहेका छन् ।