लेभल नभएको फेन्टा बजारमा

आनन्द पोखरेल
चितवन, ५ असोज । स्थानीय प्रशासनले बजार अनुगमनका क्रममा बोटलर्स नेपाल (तराई) लिमिटेड (कोक फ्याक्ट्रि) भरतपुरबाट उत्पादित सामान म्याद गुज्रिदा पनि बिक्री वितरण गरेको पाइरहेको बेलामा लेभल नै नभएको फेन्टा समेत बजारमा भेटिएको छ ।
photoजिल्ला प्रशासनबाट खटिएको नियमित अनुगमन टोलीले दैनिक रुपमा बजारमा म्याद गुज्रिएको कोक, फेन्टा र स्प्राइट नष्ट गर्ने गरेको थियो । यद्यपि बुधबारको अनुगमनमा लेभल नै प्रष्ट उल्लेख नभएको फेन्टा बजारमा भेटिएको हो । नारायणगढको एक होटलमा पाँच सय एमएल परिमाणका करिब १५ थान फेन्टामा लेभलिङ नगरिएको पाइएको हो ।
खाद्य पदार्थमा उक्त वस्तुको उत्पादित मिति, म्याद गुज्रिने मिति, अधिकतम खुद्रा मूल्य प्रष्टसँग बुझिने गरि राख्नु पर्दछ । बोटलर्स नेपाल (तराई) लिमिटेड जस्तो बहु राष्ट्रिय कम्पनीले पटक पटक जनस्वास्थ्यसँग खेलवाड गर्ने खालको काम गर्दै आएको छ । पेय पदार्थको म्याद गुज्रिने बेलामा विभिन्न खालका स्किमको लोभ देखाउँदै पेय पदार्थ बिक्री गर्ने रणनीति ल्याउँदै कम्पनीले उपभोक्ताको स्वास्थ्यलाई नजर अन्दाज गर्ने काम गरेको छ ।
फेन्टामा लेभल प्रष्ट नभएको पाइएपछि परीक्षणका लागि जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक नविन देउजाले केही फेन्टाको बोतल लिएर गएका छन् । बोटलर्स नेपाल तराईले उत्पादन गर्ने फेन्टामा उत्पादित मूल्य, बिक्री मूल्य हुने लेभल नबुझिने भेटिएका कारण परीक्षणका लागि क्षेत्रीय गुण नियन्त्रण कार्यालय पठाइने देउजाले बताए । भरतपुरको गोन्द्राङमा रहेको कोक फ्याक्ट्रिबाट उत्पादित पेय पदार्थहरु बजारमा छ्याप्छ्याप्ती म्याद नाघेका पाइनुका साथै लेभल प्रष्ट रुपमा समेत नभएको पाइने गरेको छ ।
त्यसैगरी, जिल्ला प्रशासन कार्यालय चितवनबाट अनुगमनमा खटिएको टोलीले मिनिरल वाटरमा बढी मूल्य लिने व्यवसायीलाई कारबाही प्रकृया सुरु गरेको छ । कार्यालयबाट खटिएको टोलीले बुधबार नारायणगढ बजार क्षेत्रमा अनुगमन प्रति बोतल पानीको मूल्य २० रुपैयाँ भन्दा बढी लिएको पाएपछि छ वटा पसललाई मुद्दा चलाइने भएको हो । पानीको मूल्य बढी लिएका पसललाई कालो बजारी अन्तर्गत प्रहरी मार्फत मुद्दा चलाइने जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक नविन देउजाले बताए ।
आफूहरुले अनुगमन गर्दा पानीमा बढि मूल्य लिएको पाएपछि ती पसलहरुको विवरण प्रहरीलाई बुझाउने र प्रहरी मार्फत काला बजारी अन्तर्गत मुद्दा चलाइने देउजाको भनाइ थियो । बुधबारको अनुगमनका क्रममा नारायणगढको सगरमाथा रेष्टुरेन्ट, रोयल रेष्टुरेन्ट, आर टी एन मदिरा स्टोर्स, अंकित कोल्ड स्टोर्स, कैलाश कोल्ड स्टोर्स र वीरेन्द्र होटलले मिनिरल वाटरलाई अधिकतम बिक्री मूल्य भन्दा बढी मूल्य लिएको पाएपछि कालो बजारी अन्तर्गत मुद्दा दायर गर्ने प्रकृयामा गएको देउजाले बताए ।
त्यसैगरी, म्याद गुज्रिएको खाद्य वस्तु बिक्री वितरण गर्ने सात वटा व्यवसायीलाई समेत खाद्य ऐन अन्गर्तत मुद्दा चलाइने देउजाले बताए । बुधबारको अनुगमनका क्रममा कोक, फेन्टा, स्प्राइट जस्ता पेय पदार्थ म्याद गुज्रिदा पनि बिक्री गरेको पाइएको थियो । यसरी म्याद नाघेका खाद्य सामग्री बिक्री वितरण गरेका नारायणगढका अंकित कोल्ड स्टोर्स, कैलाश कोल्ड स्टोर्स, ओम लक्ष्मी नारायण ट्रेडर्स, पौडेल इम्पोरियम, मुक्ति प्रोभिजन स्टोर्स, आर टी एन मदिरा स्टोर्स र सुलभ प्रोभिजन स्टोर्सलाई खाद्य ऐन अन्तर्गत मुद्दा चलाइने देउजाले बताए ।
म्याद गुज्रिएको खाद्य वस्तु बिक्री गरेका व्यवसायीहरुलाई सरकारी वकिलको राय लिएर खाद्य ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालय चितवनमा मुद्दा हालिने देउजाको भनाइ थियो । खाद्य कसुर गरेको ठहरियमा १० हजार रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने देउजाले जानकारी दिए ।