निशुल्क स्वास्थ्य परीक्षण

चितवन, ३ भदौ । नारायणगढमा रहेको नारी उत्थान केन्द्रले आफ्नो रजत महोत्सवको अवसरमा विविध कार्यक्रम गर्दै आएको छ ।
साउन ३० गते पत्रकार सम्मेलन गरि कार्यक्रम घोषणा गरेको केन्द्रले सामाजिक कार्य गर्दै रजत महोत्सवको कार्यक्रम गरिरहेको छ । यसै क्रममा केन्दले सोमबार महिलाहरुको लागि निशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गरेको छ । सोमबार आयोजना गरिएको पाठेघर तथा स्तन परीक्षण शिविरमा एक सय ३४ जना महिलाले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य शिविरमा गम्भीर प्रकृतिका देखिएका बिरामीलाई नारायणी सामुदायिक अस्पतालमा सहुलियत शुल्कमा उपचार गरिने अस्पतालका प्रबन्ध निर्देशक पुष्प शर्माले बताए ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै धितालले नारी उत्थान केन्द्रले रजत महोत्सवको अवसरमा गाउँ गाउँमा समेत स्वास्थ्य परीक्षणको आयोजना गर्न आग्रह गर्दै त्यहाँ आफूहरुले सहयोग गर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि डाक्टर भक्तमान श्रेष्ठ रहेका थिए । स्वास्थ्य परीक्षणमा डाक्टर भक्तमान श्रेष्ठ, डाक्टर लोक बहादुर सेढाईँ, डाक्टर युरीका श्रेष्ठलगायतका टोलीहरुले स्वास्थ्य परीक्षण गरेका थिए ।
कार्यक्रम रजत महोत्सव मूल समिति संयोजक दुर्गालक्ष्मी श्रेष्ठको अध्यक्षतामा भएको थियो । केन्द्रको रजत महोत्सव आगामी माघ १५ गते भव्य समारोहकाबीच समापन हुँदैछ ।