एमाले चितवनको अधिवेशन कार्तिक ६ र ७ गतेलाई तय

तीर्थ नेपाल
चितवन, असोज २ । आगामी अशोज २० र २१ गतेका लागी तोकिएको नेकपा एमाले चितवनको नवौं जिल्ला अधिवेशन कार्तिक ६ र ७ गतेलाई सरेको छ । एमाले चितवनको आईतवार सम्पन्न जिल्ला कमिटिको २५औं पूर्ण वैठकले अधिवेशनको मिति सार्ने निर्णय गरेको जिल्ला प्रचार विभाग प्रमुख अरुणपीडित भण्डारीले जानकारी दिनुभयो । चाडपर्व र केही प्राविधिक कारणले अधिवेशनको मिति सार्नु परेको भण्डारीले जानकारी दिनुभयो । वैठकले अधिवेशनमा सहभागी हुने प्रतिनिधीको छनौट कार्तिक १ गते गर्ने निर्णय गरेको छ । जिल्ला कमिटिले माताहतका कमिटिहरुलाई तोकिएको समयमा प्रतिनिधि छनौट गरि अभिलेख पठाउन निर्देश समेत गरेको छ । अधिवेशनमा ५ सय भन्दा वढी प्रतिनिधी सहभागी हुनेछन् । बैठकले एमाले चितवनका तर्फवाट दशै तिहार छठ सहितका चाडपर्वको अवसरमा अशोज २० गते विहान ७ वजे जिल्ला पार्टी कार्यालयमा शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । चाडपर्वका वेलामा सर्वसाधरणलाई बजारमा सर्वसुलभ ढंगले उपभोग्य सामाग्री उपलव्ध गराउन सरोकारवालासंग एमाले चितवनले माग समेत गरेको छ ।
बैठकले जिल्लाका आर्थिक विभाग प्रमुख घनश्याम भट्टराईले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष ०६९/०७० देखि ०७३ असार मसान्त सम्मको जिल्ला पार्टीको आयव्यय विवरण अनुमोदन गरेको छ ।
एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाको अध्यक्षतामा भएको बैठकमा पार्टीका ३ नम्वर प्रदेशका सहईन्चार्ज काशिनाथ अधिकारी , केन्द्रिय सदस्य केदार न्यौपाने , वैकल्पिक केन्द्रिय सदस्य कृष्णप्रसाद खनाल ,जिल्ला उपाध्यक्ष एवम् सांसद कृष्णभक्त पोख्रेल लगायतले मन्तव्य राख्नुभएको थियो ।