ढुंगानालाई ‘प्रभात पत्रकारिता सम्मान’

चितवन,असोज १samman । चितवनका युवा पत्रकार नारायण ढुंगानालाई आज ‘प्रभात पत्रकारिता सम्मान’ प्रदान गरिएको छ ।सहकारी अभियान र विकास तथा लैंगिक समानताका विषयमा पत्रकारिता मार्फत महत्वपूर्ण योगदान पुर्याएको स्मरण गर्दै आज चितवनमा एक समारोहका वीच पत्रकार ढुंगानालाई नगद पुरस्कार सहित कदरपत्रले सम्मान गरिएको हो । पत्रकार महासंघका केन्द्रिय सभासद ढुंगाना, राष्ट्रिय समाचार समिति चितवनका समाचारदाता हुनुहुन्छ ।

भरतपुरमा महिलाले मात्रै सञ्चालन गरेको प्रभात महिला बचत तथा ऋण सहकारी संस्थाको १८ औं बार्षिक साधारणसभाका क्रममा उहाँलाई यसरी सम्मान गरिएको हो ।पत्रकार ढुंगानासँगै संविधान निर्माणमा उल्लेखनीय योगदान गरेकोमा चितवनका सांसद कृष्णभक्त पोखरेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु तथा मत्स्य विज्ञान एवं पशु स्वास्थ्य संकायकी डिन हुन सफल भएकोमा डा शारदा थपलियालाई समेत कदरपत्रले सम्मान गरिएको कार्यक्रम संयोजक सरस्वती कतिलाले जानकारी दिनुभयो ।

यस्तै अधिवक्ता जगन्नाथ भण्डारी तथा तीज बचतमा उत्कृष्ट बचत गर्ने मेनका आचार्यलाई समेत सोही क्रममा सम्मान गरिएको थियो ।प्रभात बचत र दिदीबहिनी उपभोक्ता सहकारी संस्थावीचको एकिकरण घोषणासभा समेत रहेको आजको उक्त कार्यक्रममा एसएलसीमा उच्च अंक ल्याउने सहकारीको शेयर सदस्यका छोराछोरी ८ जना, तथा शेयर सदस्य बढाउन महत्वपूर्ण भूमिका खेल्ने १० जना महिलाहरुलाई समेत सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

सम्मान तथा एककिरण घोषणासभापछि मन्तव्य राख्नुहुँदै राष्ट्रिय सहकारी संघ नेपालका केन्द्रिय अध्यक्ष तथा सांसद केशवप्रसाद बडालले नेपालमा सहकारी नभएको गाविसमा नयाँ खोल्ने र धेरै भएका क्षेत्रमा एकीकरण गर्ने अभियानलाई तिब्र रुपमा अघि बढाईएको बताउनुभयो । नेपालमा ३२ हजार बढी क्रियाशिल सहकारी रहेको समेत उहाँले जानकारी दिनुभयो ।उहाँले अहिले आर्थिक विकास र सामाजिक रुपान्तरणमा सहकारी भन्ने नाराका साथ अघि बढेको जानकारी दिँदै सामाजिक न्यायमा सहकारीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा अर्का सांसद कृष्णभक्त पोखरेलले राज्यका महत्वपूर्ण तीन अंगको नेतृत्व महिलाले गरेको स्मरण गराउँदै नयाँ संविधानमा महिलाको सबै अधिकार सुनिश्चित भएको जिकिर गर्नुभयो ।प्रभात बचतकी सल्लाहकार शान्ति अधिकारी र दिदीबहिनी उपभोक्ता सहकारीकी अध्यक्ष कल्याणी मिश्रले २ बर्षको अथक प्रयासपछि दुई सहकारीलाई एक गर्न सफल भएको भन्दै सहकारीको थप प्रगति हुने विश्वास व्यक्त गर्नूभयो ।

एकीकरणसँगै बनेको प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारीमा अहिले एकीकृत पूँजी रु १४ करोड ४४ लाख पुगेको र शेयर सदस्य ३ हजार २३२ पुगेको सल्लाहकार अधिकारीले जानकारी दिनुभयो । समुदायमा आधारित सहकारीको एकिकरण यो पहिलो हो ।प्रभात महिला सहकारीकी अध्यक्ष ईश्वरी शर्मा ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी डिभिजन कार्यालय चितवनका प्रमुख भिमप्रसाद तिवारी, सहकारीकर्मीहरु नवराज सापकोटा, ईन्द्रराज पौडेल, तेजेन्द्र खड्का, आर्ट अफ लिभिङका सञ्चालक पवन नेपाल लगायतले बोल्दै सहकारीको विकासमा जोड दिनुभएको थियो ।