वातावरण पत्रकार भगत सम्मानित

चितवन, अjaldevi-samman-komalसोज १–
भरतपुरको आँपटारीमा रहेको जलदेवी सामुदायिक वनले १६ औँ स्थापना दिवसको दिनमा वन संरक्षण कार्य गरेका विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।जलदेवी सामुदायिक वन उपभोक्ता समितिले शनिबार आफ्नो १६ औँ स्थापना दिवसको अवसर पारेर आभास टेलिभिजनका प्रबन्ध निर्देशक एवम् वातावरण पत्रकार कोमलचन्द्र भगत, चितवनका जिल्ला वन अधिकृत गणेश राय र जलदेवी सामुदायिक वन उपभोक्ता समितिका निवर्तमान अध्यक्ष पूर्णबहादुर श्रेष्ठलाई सम्मान गरेको हो । सम्मानित त्रयलाई वनले प्रमाणपत्र सहित दोसल्ला ओडाएर सम्मान गरेको थियो । पत्रकार भगतले वातावरण संरक्षणको क्षेत्रमा १५ वर्षदेखि काम गर्दै आएकोले सम्मान गरिएको जलदेवी सामुदायिक वनले जनाएको छ ।

त्यसैगरी, यसैवर्ष निजामति पुरस्कार समेत प्राप्त गरेका जिल्ला वन अधिकृत रायलाई वन संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएकोले वनले सम्मान गरेको हो । त्यस्तै सामुदायिक वनका निवर्तमान अध्यक्ष श्रेष्ठले सामुदायिक वनको संरक्षण प्रवद्र्धनमा भूमिका खेलेका भन्दै सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै जिल्ला वन अधिकृत गणेश रायले वन संरक्षण गर्ने व्यक्ति परोपकारी व्यक्ति भएको बताए ।वनको अक्सिजन कसैले पनि रोक्छु भनेर रोक्न नसकिने भन्दै रुख रोपेर जोगाउनु नै धर्म भएको समेत रायको भनाइ थियो । चितवनमा राजमार्गदेखि उत्तर तर्फ ४७ हजार हेक्टर र दक्षिण तर्फ ८३ हजार पाँच सय हेक्टर क्षेत्रफल सरकारी वन रहेको उल्लेख गर्दै रायले ४७ हजार हेक्टर वनमा ८७ वटा सामुदायिक वन र ८३ हजार हेक्टर वन संरक्षित वन भएको बताए ।

गतवर्ष चितवनको सामुदायिक वनले १० करोड रुपैयाँ आम्दानी गरेको बताउँदै रायले वन संरक्षण गरेर समेत आम्दानी हुने र ती आम्दानीहरु सामाजिक काममा परिचालन हुने गरेको धारणा राखे । सबै मिलेर वनको संरक्षण गर्नु हाम्रो जिम्मेवारी भएको रायले बताए । एउटा व्यक्ति बाँच्नको लागि २४ घण्टामा साढे १६ किलो अक्सिजन चाहिने र त्यो अक्सिजन सात वटा वयस्क रुखले मात्र पूरा गर्न सक्ने भएकाले सबैले रुख विरुवाको संरक्षणमा ध्यान दिनुपर्ने रायको भनाइ थियो ।उक्त कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधि विश्व वाग्ले, नेकपा एमालेका कृष्ण केसी, नेकपा माओवादी केन्द्रका हरिषरणले वन जोगाउन सबै समुदाय लागि पर्नुपर्ने बताए । वन संरक्षणमा कुनै एउटा व्यक्तिको भूमिका मात्र सफल नहुने भएकाले सबै समुदाय जुटेको खण्डमा वनको संरक्षणका साथै वनबाटै आय आर्जन समेत गर्न सकिने राजनीतिक दलका प्रतिनिधिहरुको भनाइ थियो ।

सामुदायिक वन राष्ट्रिय महासंघ नेपाल चितवनका अध्यक्ष सुरवीर पोखरेलले रुख विरुवाहरु हाम्रो धर्म र संस्कृतिसँग समेत जोडिएको कारण यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए । जलदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष केशव थापाको अध्यक्षतामा भएको कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष खिमलाल भण्डारी, ब्रह्माकुमारी मिनालगायतले मन्तव्य राखेका थिए ।