विविध कार्यक्रम गर्दै संविधान दिवस मनाइने

करुणा देवकोटा
चितवन, ३१ भदौ । नेपालको नयाँ संविधान जारी भएको झण्डै एक वर्ष पुगेको छ । गत वर्ष असोज ३ गते नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधान घोषणा गरेका थिए ।
संविधान जारी भएको खुसीयालीमा दिपावलीको कार्यक्रम सँगै धेरै दिनसम्म खुसीयाली तथा शुभकामना साटासाटको कार्यक्रमहरु पनि आयोजना गरिएका थिए । उत्कृष्ट संविधान बनेको छ भन्दै सांसद तथा प्रमुख राजनीतिक दलका नेताहरुले यस संविधानलाई छिट्टै कार्यान्वयन गराउने वचनबद्धता पनि गरेका थिए । साथ–साथै संविधान मान्य छैन भनि विभिन्न बिरोधका कार्यक्रमहरु पनि यस एक वर्षको अवधिमा आयोजना गरिए ।
तर, संविधान जारी भएको एक वर्ष पुगिसक्दा पनि नयाँ संविधान २०७२ कार्यान्वयन हुन सकेको छैन । संविधानमा उल्लेख गरिएका हक अधिकार, नीति नियमका विषयमा अझै पनि अधिकांश जनताहरु अनविज्ञ छन् । जसले गर्दा कार्यान्वयनमा चुनौती पनि थपिएको छ । राजनीतिक खिचातानी र अस्थिर सरकारी संयन्त्रका कारण संविधान कार्यान्वयन नभएको धेरै जनगुनासो पनि छ ।
यसैबीच, संविधान जारी भएको दिनलाई स्मरण गर्दै विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने तयारी सरकारले गरेको छ । चितवनमा पनि संविधान दिवसलाई मध्यनजर गर्दै असोज २, ३ र ४ गते विभिन्न कार्यक्रमहरु आयोजना गरिने शुक्रबारको बैठकले निर्णय गरेको छ । संविधान दिवस समारोह भव्यताका साथ मनाउनका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने व्यवस्थापिका संसदका सांसदहरु, राजनीतिक दलका प्रमुख, कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुख, नागरिक समाजका प्रतिनिधि, उद्योग वाणिज्य संघ, विभिन्न गैरसरकारी निकायका प्रमुख, विभिन्न शैक्षिक संस्थाका प्रमुख, स्थानीय निकायका प्रमुख, वुद्धिजीविहरु रहेको पाँच सय एक सदस्यीय संविधान दिवस मूल समारोह समिति गठन गर्ने पनि बैठकले निर्णय गरेको छ ।
चितवनका निमित्त स्थानीय विकास अधिकारी बिसुराम कुँवरको अध्यक्षतामा बसेको बैठकले संविधान दिवसको अवसरमा आयोजना गरिने कार्यक्रमहरुको घोषणा गरेको हो । जस अन्तर्गत असोज २, ३ र ४ गते तीनै दिन सरकारी कार्यालय, शैक्षिक संस्था, उद्योग एवम् घरघरमा साँझ दिपावली गर्न सबैलाई आग्रह गरिएको छ ।
यसैगरी, बैठकले असोज ३ गते संविधान दिवसका दिन बिहान चौबिसकोठीबाट जिल्ला विकास समिति चितवनको कार्यालयसम्म ७ः३० बजे प्रभातफेरी र प्रवचन कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । भरतपुर ब्यारेक र जुनियर प्रहरी अधिकृत शिक्षालयले बाजागाजा व्यवस्थापन गर्ने गरी प्रभातफेरीमा बाजागाजा पनि प्रस्तुत गरिने बैठकको निर्णय छ ।
यसैगरी, असोज ४ गते भने प्रजिअ ११ र राजनीतिक दल ११ बीच मैत्रीपुर्ण फुटबल खेलको आयोजना गरिने छ । शुक्रबार चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, विभिन्न सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, आदिको सहभागितामा संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमको घोषणा गरिएको हो ।