नारायणी नगरपालिकाका तीन वटा वडा एकैदिन वातावरणमैत्री

आनन्द पोखरेल
चितवन, ३१ भदौ । नारायणी नगरपालिकाको तीन वटा वडालाई संयुक्त रुपमा वातावरणमैत्री वडा घोषणा गरिएको छ । नगरपालिकाको पर्साढापमा भव्य समारोहका बीच नारायणी नगरपालिकाको वडा नम्बर २, ३ र ४ लाई शुक्रबार वातावरण मैत्री वडा घोषणा गरिएको हो ।
वातावरण मैत्री वडाका लागि सम्पूर्ण सूचकहरु पूरा गरेपछि ती वडालाई वातावरणमैत्री वडा घोषणा गरिएको बताइएको छ । यस अगाडि नारायणी नगरपालिकाको वडा नम्बर ११ चितवनको पहिलो वातावरण मैत्री वडा घोषणा भैसकेको छ । नारायणी नगरपालिकामा वातावरणमैत्री कार्यक्रम एक वर्ष अगाडिदेखि लागू भएको हो । कार्यक्रम लागू भएपछि नगरपालिकाले नकुहिने फोहोरहरुको व्यवस्थापन गर्दै आएको छ भने नगरबासीले कुहिने फोहोरहरु आफैले व्यवस्थापन गर्दै आएका छन् ।
0

नगरपालिकाले नकुहिने फोहोर व्यवस्थापन गर्नको लागि कवाड हल समेत निर्माण गरेको छ । नेपालमा नै पहिलो पटक नारायणी नगरपालिकाका तीन वडा संयुक्त रुपमा वातावरणमैत्री वडा घोषणा भएका हुन् । भूमि सुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले नगरपाकिलाका तीन वटा वडालाई वातावरण मैत्री घोषणा गरेका हुन् ।
कार्यक्रममा मन्त्री पाण्डेले नारायणी नगरपालिका पर्यापर्यटनको हिसाबले अगाडि रहेको भन्दै नगरपालिकाको विकास गर्न सबैको साथ जरुरी रहेको बताए । राजनीति सिकाउने र भाषण गर्न मात्र सिकाउने ठाउँ भएकाले मेघौलीको विकास हुन नसकेको भन्दै आफूले उक्त ठाउँको विकास गरेर देखाउने मन्त्री पाण्डेले बताए । जनतालाई विकास चाहिएको बताउँदै मन्त्री पाण्डेले विकासको लागि नयाँ संविधान पूर्ण रुपमा लागू हुनुपर्ने धारणा राखे ।
जनतालाई परेका पीर मर्का आफूले २४ घण्टा सुनुवाई गर्दै उनीहरुको समस्या समाधान गर्न तत्तपर रहेको पाण्डेले बताए । जनताको फोन आफूले सिधै उठाउने भएकाले विकास निर्माणका काममा कुनै पनि गुनासो भएमा आफूलाई खबर गर्न भन्दै मन्त्री पाण्डेले आफ्नो मोबाइल नम्बर समेत कार्यक्रममा सर्वसाधाारणको लागि बताएका छन् ।
img_5431

आफू विदेश घुम्नको लागि मन्त्री नभएको मन्त्री पाण्डेले प्रष्ट पारे । आफूले बोलेर भन्दा पनि गरेर देखाउने मन्त्री पाण्डेको भनाइ थियो । ‘म मन्त्री होइन, जनता मन्त्री हुन्’ पाण्डेले भने,– ‘म त जनताको बहाक मात्र हो ।’ आफू गाउँको सेवा गर्नको लागि गाउँमा फर्किएको पाण्डेले बताए ।
कार्यक्रममा नारायणी नगरपालिकाका कार्यकारी अधिकृत रमेश सुवेदीले वातावरणमैत्री टोल घोषणापछि सरसफाईमा नियमित ध्यान दिने टोललाई पुरस्कृत गर्ने समेत बताए । नगरपालिकाकी वातावरणविद् शारदा पोखरेलले फोहोर व्यवस्थापनलाई स्थानीय स्तरमा नै व्यवस्थापन गर्न सक्नु नै वातावरणमैत्री वडा घोषणा गर्न सफलता मिल्नु भएको बताइन् । ती तीन वटा वडाहरुमा दुई हजार छ सय ६० वटा घरधुरी रहेको उल्लेख गर्दै पोखरेलले सबै घरमा वातावरणमैत्री घोषणा गर्ने सूचकहरु पूरा भएको बताइन् ।
आगामी दुई वर्ष भित्रमा नारायणी नगरपालिकाका सम्पूर्ण वडाहरु वातावरणमैत्री घोषणा गर्ने तयारीका साथ काम भइरहेको कार्यालयका इन्जिनियर सन्तोष पाण्डेले बताए । नगरपालिकाको नकुहिने फोहोर व्यवस्थापनको लागि करिब १० लाख रुपैयाँको लगानीमा एक वर्ष पार्वतीपुरमा कवाड हल समेत निर्माण गरिएको पाण्डेले जानकारी दिए । उक्त कवाड हलमा नकुहिने फोहोरहरुका वर्गिकरण गरेर फरक फरक ठाउँमा राख्दै आइएको र उक्त फोहोरहरु बिक्री गर्दै उक्त रकम समुदायलाई नै फिर्ता गर्ने तयारी भएको पाण्डेले बताए ।
कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भरतपुरका प्रमुख चक्रपाणि शर्मा, भरतपुर नगरपालिकाका पूर्व मेयर चेतबहादुर भट्टराई, नारायणी नगरपालिका वडा नम्बर २ का वडा नागरिक मञ्चका संयोजक अर्जुन भण्डारी, वडा नम्बर ४, ५ र ६ कि सामाजिक परिचालक मिना अधिकारीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम नारायणी नगरपालिका वडा नम्बर २, ३ र ४ वातावरणमैत्री घोषणा समितिका संयोजक बाबुराम अधिकारीको अध्यक्षतामा भएको थियो ।