सिनर्जीमा बाल कवि महोत्सव

चितवन, ३० भदौ । राष्ट्रिय बाल दिवशको अवशरमा सिनर्जी एफ एफ ९१ दशमलव ६ मेघाहर्जले आयोजना गरेको प्रतियोगितात्मक बाल कवि सम्मेलनमा देवघाट स्थित परमानन्द संस्कृत गुरुकुलमका संयोग बस्याल पहिलो भएका छन् ।
यस्तै बेदबेदाङ्ग मावि देवघाटका शिशिर पोखरेल दोस्रो र एसओएस हर्मन माइनर भरतपुर ८ का बर्षा कडेल तेस्रो भएका छन् । सिताराम मावि देवघाटका सरिता विकले सान्त्वना स्थान हासिल गरे । प्रतियोगितामा विभिन्न विद्यालयका ६० भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
विजयीहरुलाई एफएमका स्टेशन म्यानेजर अमर प्रधान र कार्यक्रम संयोजक रामकान्त पौडेलले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको निर्णायकमा कवि मनोज भण्डारी र एफएमका स्टेसन म्यानेजर प्रधान रहेका थिए । यसअघि भएको उद्घाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका चितवनका जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले बालअधिकारको सम्बद्र्धन तथा संरक्षणमा रेडियोहरुको महत्वपुर्ण भूमिका रहने बताए ।
सिनर्जी एफएमले आयोजना गरेको प्रतियोगितात्मक बाल कवि सम्मेलनको प्रसंशा गर्दै आचार्यले यस्ता कार्यक्रमले बालबालिकाहरुलाई श्रृजनात्मक बनाउने धारणा राखे । यस्तै एफएमका प्रवन्ध निर्देशक सहन प्रधानले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनको माध्यम बनेको सिनर्जी एफएमले वर्षेनि बाल कवि सम्मेलन गर्दै आइरहेको जानकारी दिए । कार्यक्रमले विद्यार्थीहरुको अभिव्यक्ति कलालाई उजागर गर्न मद्धत पुग्ने प्रधानको विश्वास रहेको थियो ।