पाँचौ लाखे नाच प्रतियोगिताको उद्घाटन आज

चितवन, ३० भदौ । लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालको आयोजनामा चितवनमा हुने लागेको पाँचौ लाखे नाच प्रतियोगिाको आज उद्घाटन हुँदैछ ।
भोलिसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आज दिउँसो दुई बजे गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय लाखे नाच प्रतियोगितामा सहभागिता जनाउनको लागि २३ वटा जिल्लाबाट ३६ समूहले नाम दर्ता गराएका लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालका उपाध्यक्ष तथा प्रतियोगिताका मूल संयोजक निजनलाल श्रेष्ठले जानकारी दिए ।
लाखे नाच प्रतियोगिताले नेपालको आन्तरिक तथा बाह्य पर्यटन आगमनको लागि समेत टेवा पुग्ने लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालका अध्यक्ष राजेन्द्र कुमार पियाले बताए । मजिपाट लाखेले मानव जातिको संरक्षण गर्ने भएकाले समेत त्यसको संरक्षण गर्नको लागि नेवार समुदायले पुजा गर्दै आएको पियाको भनाइ छ । लाखे नाच सोह्र श्राद्ध सुरु हुने पूर्णिमाको दिनसम्म देखाइने हुनाले त्यसै समयलाई मध्यनजर गर्दै प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा पहिलो हुने समूहलाई ७५ हजार रुपैयाँ, दोस्रो हुनेलाई ५० हजार रुपैयाँ, तेस्रो हुनेलाई २५ हजार रुपैयाँ र सान्त्वना हुनेलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था समेत गरिएको छ । प्रतियोगिता सम्पन्न गर्नको लागि १५ लाख ३४ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।