तीन जना सरकारी कर्मचारीलाई स्वागत

भरतपुर, २८ भदौ । चितवन उद्योग संघले चितवनमा भरखरै सरुवा भएर सरकारी निकायका तीन जना प्रमुखलाई स्वागत तथा सम्मान गरेको छ ।
संघले औपचारिक कार्यक्रम गर्दै घरेलु तथा साना उद्यो कार्यालय चितवनका प्रमुख, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय आँपटारीका प्रमुख र सशस्त्र प्रहरी बल गढिमाई गण भण्डाराका प्रमुखलाई स्वागत तथा सम्मान गरेको हो । स्वागत कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले मुलुकको विकासको लागि उद्योगहरुको विकास अपरिहार्य रहेको बताए । ४० लाख युवाहरु विदेशीमा भएको र रेमिट्यान्स भित्रिएको भएपनि त्यसले मात्र मुलुकलाई समृद्ध पार्न नसक्ने अधिकारीको भनाइ थियो ।
आगलागी र दैवी प्रकोपबाट हुने क्षतिबाट समेत व्यवसायीहरु आक्रान्त हुने गरेको कारण तुरुन्त उद्धारको लागि चितवनमा समेत औद्योगिक बलको आवश्यकता रहेको अधिकारीले बताए । नेपालीहरुसँग करोडौँ रुपैयाँ भएर पनि उद्योगमा लगानी गर्न नसकेको अवस्थामा राज्यको औद्योगिक नीति र औद्योगिक सुरक्षाको व्यवस्थालाई राम्रोसँग व्यवस्थापन गर्ने हो भने मुलुकले औद्योगिक रुपमा विकास गर्न सक्ने अधिकारीको भनाइ छ ।
स्वागत कार्यक्रममा सशस्त्र प्रहरी बल गढिमाई गणका प्रमुख प्रहरी उपरीक्षक शान्ति कुमार कार्कीले सूचना सुरक्षाको पाटो भएकाले सुरक्षाको विषयमा एकीकृत हुनु जरुरी रहेको उल्लेख गरे । जनता र सुरक्षा निकाय सहकार्य गरेर अगाडि बढेको खण्डमा जनताको जीउ धन सुरक्षा गर्न सकिने कार्कीको तर्क थियो । सुरक्षा निकायले मात्र सुरक्षा प्रदान गर्न नसक्ने भएकाले सबैको सहकार्यको आवश्यकता कार्कीले औँल्याएका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय आँपटारीका प्रमुख प्रहरी उपरीक्षक श्याम कोइरालाले सशस्त्र प्रहरी बल सेवा, सुरक्षा र उद्धारको काममा प्रतिवद्ध रहेको उल्लेख गरे । आगामी दिनमा पनि व्यवसायहरुको सुरक्षाका लागि आफूहरुले सहयोग गर्ने कोइरालाले बताए ।
सम्मान कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय चितवनका प्रमुख उद्योग अधिकृत होम प्रकाश पाण्डेले उद्योग र घरेलु कार्यालयबीच सहकार्य भएर अगाडि बढेको खण्डमा उद्योगीहरुको समस्या समाधान गर्न सकिने बताए । कर्मचारीहरु स्थायी सरकार भएपनि उनीहरु एउटै कार्यालयमा बढीमा दुई वर्षसम्म मात्र बस्न पाउने भएकोले कामलाई प्रभावकारी बनाउन स्थानीय व्यवसायीको समेत साथ र सहयोग आवश्यक हुने पाण्डेको भनाइ थियो । चितवन उद्योग संघका अध्यक्ष भीमबहादुर पाण्डेको अध्यक्षतमा भएको स्वागत कार्यक्रममा वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीले स्वागत मन्तव्य राखेका थिए ।