रत्ननगरमा कृषि प्रयोगशाला सञ्चालन

आनन्द पोखरेल
चितवन, २८ भदौ । निजी तथा सरकारी साझेदारीमा पूर्वी चितवनको रत्ननगरमा कृषि प्रयोगशाला सञ्चालनमा आएको छ । रत्ननगरको भानुचोकमा सञ्चालन गरिएको रत्ननगर कृषि प्रयोगशालाको उद्घाटन कृषि मन्त्रालयका सचिव उत्तम कुमार भट्टराईले गरेका छन् ।
प्रयोगशाला उद्घाटनका क्रममा सचिव भट्टराईले निजी तथा सरकारी साझेदारीमा सञ्चालन भएका व्यवसाय तथा फार्महरु सफल हुने भएकाले सरकारले साझेदारीमा काम अगाडि बढाएको बताए । विगतमा गलत तरिकाबाट खेती गरिएका कारण निर्वाहमुखी खेती प्रणालीमात्र भएकोले आगामी दिनमा व्यावसायिक कृषि प्रणाली गर्न सकेमा मुलुक समृद्ध हुने भट्टराईको भनाइ छ । माटोको तत्वहरुको बारेमा परीक्षण गरेर मात्र खेती गर्न सकेको खण्डमा जमिनबाट राम्रो आम्दानी गर्न सकिने भट्टराईले बताए ।
खेती प्रणालीलाई वैज्ञानिक तवरले सञ्चालन गरेमा थोरै लगानीमा धेरै उत्पादन गर्न सकिने भएकाले माटो परीक्षण गरेर माटोको उपचार पश्चात खेती लगाउनको लागि भट्टराईले आग्रह गरे । सरकारले कृषिमा आधुनिकीकरण गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीरण आयोजना ल्याउने तयारी सञ्चालन गरेको उल्लेख गर्दै सचिव भट्टराईले उक्त आयोजनामा एकीकृत कृषि प्रणालीलाई जोड दिँदै सरकारले अनुदान समेत वितरण गर्ने बताए ।
खेतीयोग्य जमिनको उचित प्रयोगका लागि भूउपयोग नीतिको कार्यान्वयन गराउनको लागि सरकार लागि परेको भट्टराईको भनाइ छ । कृषि क्षेत्रमा आमूल परिवर्तन गर्नको लागि यसै आर्थिक वर्ष २०७३÷०७४ बाट सरकारले २० वर्षे कृषि विकास नीति समेत लागू गरिसकेको भट्टराईले बताए ।
तीन लाख १० हजार रुपैयाँ अनुदान पाएको प्रयोगशालामा जिल्ला कृषि विकास कार्यालयको ६० हजार रुपैयाँ र रत्ननगर नगरपालिकाको दुई लाख ५० हजार रुपैयाँ अनुदान रहेको छ । रत्ननगर नगरपालिकाका जनताहरुलाई माटो परीक्षणमा ५० प्रतिशत छुट दिन सहमतिका साथ नगरपालिकाले हरेक प्ररीक्षण सामग्री खरिद गर्नको लागि ५० प्रतिशत अनुदान उपलब्ध गराएको थियो ।
प्रयोगशाला उद्घाटनका क्रममा माटो व्यवस्थापन निर्देशनाललयका निर्देशक निर्देशक दुर्गाप्रसाद दवाडीले पछिल्लो समय व्यवसायिक खेतीका नाममा जथाभावी विषादीको प्रयोग बढ्दै गएकाले यसतर्फ सचेत हुनुपर्ने बताए । दवाडीले किटनाशक विषादीले माटोमा भएका जिवाणूहरु समेत नष्ट गर्ने भएकाले यसको प्रत्यक्ष प्रभाव मानव स्वास्थ्यमा समेत पर्ने बताए । कार्यक्रम जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेको अध्यक्षतामा भएको थियो ।