चितवनमा डेङ्गु रोगको निःशुल्क परीक्षण

चितवन, २८ भदौ । चितवनमा स्क्रब टाइफस रोगको सङ्क्रमण बढिरहेका बेला डेङ्गु रोगको समेत सङ्क्रमण हुनसक्ने आशङ्कामा निःशुल्क परीक्षणका लागि सरकारले ५० वटा डेङ्गु किट उपलब्ध गराएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामार्फत चितवनमा डेङ्गुको निःशुल्क परीक्षणका लागि ५० वटा किट उपलब्ध गराइएको महाशाखाका जनस्वास्थ्य निरीक्षक रेशम लामिछानेले जानकारी दिनुभयो ।
स्क्रब टाइफस रोगको अवस्था अध्ययन गर्न आउनुभएका उहाँले डेङ्गुको किटसमेत ल्याएर भरतपुर अस्पताललाई दिएको जानकारी दिनुभयो । यसअघि २०० वटा किट स्क्रब टाइफस रोगको निःशुल्क परीक्षणका लागि सरकारले उपलब्ध गराइसकेको छ ।
उक्त किटबाट निःशुल्क परीक्षण हुन्छ । विसं २०६७ सालमा चितवनमा महामारीका रुपमा फैलिँदा डेङ्गुरोगका कारण पाँचजनाको मृत्यु भएको थियो भने ७०० भन्दा बढी बिरामी भएका थिए । सोही बेलादेखि यहाँ सरकारले डेङ्गु नियन्त्रणका कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।
बर्सेनि सयौं बिरामी डेङ्गुबाट प्रभावित हुँदै आएको जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो । उहाँले विभिन्न अस्पतालमा डेङ्गुको अवस्थाबारे प्रतिवेदन माग गरिएको जानकारी दिनुभयो ।

.