किर्ते अभियोगमा एक वर्ष कैद

चितवन, २८ भदौं । किर्ते अभियोगमा पक्राउ परेका नारायणगढका दुई कम्युनिकेशन सञ्चालकमाथिको मुद्दा सोमबार चितवन जिल्ला अदालतबाट फैसला भएको छ । अभियुक्त नमस्ते स्टेशनरीका सञ्चालक दिलिप श्रेष्ठलाई १ वर्ष कैद र ५० रूपैयाँ जरिबाना भएको चितवन जिल्ला अदालतका सूचना अधिकृत कृष्ण बरालले जानकारी दिए । त्यस्तै अर्का संचालक धर्मपाल विकको हकमा भने आंशिक अभियोग दाबी पुग्ने अदालतले ठहर गरेको छ । न्यायाधीश सुवासबाबु पुरीको इजलासले यस्तो फैसला गरेको हो । आदेश हुँदा उनीहरु धरौटीमा छुटेका थिए । फैसलामा भने कैद सजाय भएको छ ।
प्रहरीले अघिल्लो वर्ष असार २० गते सहिदचोकमा रहेको नमस्ते कम्यूनिकेशन र बालकुमारी कलेजनजिक रहेको एटूजेड प्रिन्टिङ एण्ड ग्राफिक सेन्टरबाट नक्कली कागजात बरामद गरेको थियो । सरकारी कागजात किर्ते गरेको आरोपमा पक्राउ पर्नेमा सहिदचोकस्थित नमस्ते स्टेशनरी सेन्टरबाट पसल सञ्चालक दिलिप श्रेष्ठ र एटूजेड प्रिन्टिङ एण्ड ग्राफिक सेन्टरका धर्मपाल विक रहेका थिए ।
घटनामा अन्य अभियुक्तलाई कसुरको मात्रा हेरी सजाय तोकिएको सूचना अधिकृत बरालले बताए । नमस्ते कम्यूनिकेशनले देशभरका विभिन्न महत्वपूर्ण सय वटा सरकारी र गैरसरकारी कार्यालयका कामहरु अवैधानिक रुपले संचालन गर्दै आएको पाइएको थियो ।
सो पसलमा छापा मारेपछि चितवन प्रहरीले सूचना सार्वजनिक गर्दै विगत १२ वर्षदेखिको अवैध धन्दाको जालो च्यातेको प्रतिक्रिया दिएको थियो । त्यहाँबाट विभिन्न यातायात व्यवस्था कार्यालयको छाप, विभिन्न सरकारी विद्यालय र निजी विद्यालयका छाप तथा प्रअको सही छाप, वकिल, पत्रकार, कर अधिकृतको छाप बरामद भएको थियो । शैक्षिक, यातायात, कर, वैदेशिक रोजगार गरी सय वटा कार्यालयका काम पनि निजी तवरले संचालित पसलबाट हुँदै आएको प्रहरीले पत्ता लगाएको थियो ।