सरकारीअनुसारकै तलब दिन चितवनका बोर्डिङ सहमत , ५ बुँदे सहमति(हेर्नुहोस् सहमतिपत्र)

चितवन, २८  भदौ । चितवनका निजी विद्यालय आफ्ना शिक्षक तथा कर्मचारीलाई सरकारी स्केलअनुसारको सेवा सुविधा दिन सहमत भएका छन् ।pabson-istu-agreement
सोमबार भएको छलफलमा संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)बीच सेवा सुविधाबारे ५ बुँदे सहमति भएको छ । सहमतिपत्रमा प्याब्सन चितवनका अध्यक्ष बेलबहादुर गुरुङ र इस्टु चितवनका अध्यक्ष विष्णुबहादुर भुजेलले हस्ताक्षर गरेका छन् ।
सहमतिमा शिक्षक–कर्मचारीलाई शिक्षा नियमावली २०५९ को संसोधनसहितको सरकारी सेवा सुविधाअनुसराको तलब भत्ता, ग्रेडलगायत सुविधाहरु २०७३ साउनदेखि नै लागू हुने गरी दशैंअघि नै उपलब्ध गराउने भनिएको छ । त्यस्तै सहमतिमा संस्थागत विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई नियुक्तिपत्र नदिइएको भए अविलम्व दिइने, तलब बैंकमार्फत भुक्तानी दिने, प्याब्सन र इस्टुबीचको सहमति लागू गर्ने र इस्टु चितवनले घोषणा गरेको सबै संघर्षको कार्यक्रम स्थगित गर्ने भनिएको छ ।
जिल्ला शिक्षा अधिकारी दामोदर आचार्य र संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष सूर्यकान्त न्यौपानेको रोहबरमा सहमति भएको हो । निजी तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले जहिले पनि तोकिएको सेवा सुविधा नपाएको गुनासो गर्दै आएका छन् ।