‘बढी भाडा मागेमा १०० मा फोन गर्नुस’

विप्लव काफ्ले

चितवन,२८ भदौ ।स्थानीय प्रशासनले चितवनका ग्रामीण सडकमा निर्धारण गरेको नयाँ भाडादर कुनै हालतमा कार्यान्वयन गरिछाड्ने बताएको छ । त्यस्तै यातायातका साधन सञ्चालन नगरी सेवा अवरोध पु¥याएमा एक महिनासम्म सवारी चल्न नपाउने गरी कारबाही गर्ने पनि प्रशासनले स्पष्ट पारेको छ ।

bus-banado-a
बाटो इजाजतपत्रमा तोकेको बाटोमा सार्वजनिक सवारीसाधन सञ्चालन नगरी जनजीवनमा असर गर्ने गरी यातायात अवरुद्ध गरेमा बाटो इजाजतपत्र बढीमा एक महिनासम्म स्थगित गर्न सकिने सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८६ को उपदफा २(क) मा उल्लेख छ । भदौ ४ गते प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला यातायात व्यवस्थापन समितिले गरेको सिफारिसका आधारमा जिल्लाको १५ वटा ग्रामीण सडक खण्डमा अस्थायी रुट परमिट जारी गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी विनोदप्रकास सिंहले सरकारी मापदण्डअनुसारै ग्रामीण रुटमा भाडा निर्धारण भएको भन्दै कार्यान्वयन गरिछाड्ने बताए । “पेट्रोलीयम पदार्थको मूल्य बढेको छैन, सात महिनाअघिको मापदण्ड कार्यान्वयन गराउन लागेका हौं”, उनले भने, “मापदण्ड अक्षरशः पालना गराइछाड्छौं ।” उनले ग्रामीण सडकमा जारी भएको नयाँ भाडादर तत्काल नबढ्ने बताए ।

“भाडादर घट्ने बढ्ने जिल्लामा हाम्रो सहमतिले हुँदैन र गरिदैन”, प्रमुख जिल्ला अधिकारी सिंहले भने, “नेपाल सरकारकै निर्णयले मापदण्ड फेरबदल भए जिल्लामा पनि फेरिन्छ, अन्यथा फेरिदैन ।”
उनले भाडादरमै असन्तुष्टि राखेर सार्वजनिक यातायात सेवालाई अवरोध गरेमा नछाडिने बताए । “विशेष कारणवश एक दुई गाडी रोकिनु स्वाभाविक मान्न सकिएला”, उनले भने, “अत्यावश्यक सेवा अवरोध गर्ने यातायात व्यवसायीलाई समेत मुद्धा चलाउने अवस्था आउँलाजस्तो लाग्दैन, मापदण्ड बेगर केही चल्न सक्दैन ।” उनले प्रहरीको कन्ट्रोल रुममा, प्रहरी प्रमुख, ट्राफिक प्रमुख र आफ्नो मोबाइल सेटमार्फत पनि बढी भाडा मागेमा वा असुलेको पाइएमा खबर गर्न अनुरोध गरे ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले भाडादर कार्यान्वयन गराउन कडा निगरानी गरिएको बताए । “यात्रुबाट बढी भाडा लिने, टिकट नदिने गरेको पाइए सवारी कारबाहीको दायरामा ल्याइन्छ”, उनले भने, “सार्वजनिक यातायात सेवा ठप्प गरेमा व्यवसायीमाथि नै सार्वजनिक मुद्धा चलाउनसमेत पछि हट्दैनौं ।” यात्रुले १०० मा वा आफ्नो मोबाइल सेटमार्फत रुट तथा गाडीको नम्बरबारे खबर गरे तत्काल बढी भाडा लिनेलाई कारबाही गर्ने बताए ।
“व्यवसायीले लिदै आएको विगतको भाडादर भन्दा निर्धारण भएको भाडादर आधा कम भएपछि व्यवसायी असन्तुष्ट बन्नु स्वाभाविक हो”, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक राजन भेटवालले भने, “सरकारले जारी गरेको मापदण्ड कार्यान्वयन गराउनु हाम्रो दायित्व हो, भाडा बढी लिएको पाइए कानूनबमोजिम कारबाही गरिन्छ ।”

प्रहरी तथा ट्राफिकले ठाउँ–ठाउँमा कडा चेकजाँच गरी बढी भाडा लिएको पाइए कारबाही गर्ने कामलाई तीव्र पारेका छन् । भाडादर प्रभावकारीरुपमा कार्यान्वयन भए/नभएको अनुगमन गर्न जिल्ला प्रशासन कार्यालय चितवनका अधिकृतको संयोजकत्वमा रहेको अनुगमन समितिसमेत खटिएको छ ।
सोमबार बिहानमात्रै नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेका ३५ वटा माइक्रोबसबाट बढी भाडा फिर्ता गराएको छ । “१ सय रुपैयाँ बढी भाडा असुलेको भेटियो”, ट्राफिक प्रमुख भेटवालले भने, “बढी भाडा फिर्ता गराएर प्रत्येक यात्रुलाई टिकट दिन लगाइयो, यो कार्यले निरन्तरता पाउँछ ।”

नारायणगढबाट काठमाडौंसम्म पुग्न अधिकतम ३ सय ५० रुपैयाँ भाडा लिन सकिन्छ । तर, व्यवसायीले ४ सय ५० देखि ६ सय रुपैयाँसम्म भाडा असुल्दै आएका छन् । उनले बसपार्क क्षेत्र, मुख्य चोकमा लामो तथा छोटो दूरीका सवारीलाई उच्च निगरानी गर्न अनुगमन टोली नै खडा गरिएको बताए ।
नयाँ भाडादरमै चलाउँछौंःव्यवसायी

यातायात व्यवसायीहरु नयाँ भाडादरमै सवारी सञ्चालन गर्न सहमत बनेका छन् । आइतबार स्थानीय प्रशासनबीच भएको सहमति लत्याउँदै सोमबार दिनभर सवारी नचलाएका व्यवसायीहरु साँझबाट सवारी चलाउने मनस्थितिमा पुगेका हुन् ।
जिल्ला यातायात व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारीले भाडादर पुनरावलोकन नहुने अडान लिएपछि व्यवसायी बाध्य बनेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ नारायणी अञ्चल संयोजक कपिल पाण्डेले व्यवसायीहरुलाई तत्काल नयाँ भाडादरमै सेवा सञ्चालन गर्न आग्रह गरेको बताए । “हामी महासंघ र मन्त्रालयस्तरमै गुनासाहरु पु¥याउने गरी अघि बढेका छौं”, उनले भने, “कच्ची सडकको भाडादर केही बढाउनुपर्छ भन्ने हाम्रो माग हो ।” यातायात व्यवसायीहरुको टोलीले साँझ प्रमुख जिल्ला अधिकारीलाई गुनासोपत्र बुझाएको छ ।”
“नयाँ भाडादरअनुसार सवारी चलाउन नसक्ने अवस्थामा हामी छौं भनेर औपचारिकरुपमै लेखेर पठायौं”, पूर्वी चितवन, टेम्पो, माइक्रो तथा मिनीबस व्यवसायी समितिका अध्यक्ष दामोदर शाहीले भने, “ग्रामीण सडक अवस्था, दूरी, लागत खर्च यकिन गरी भाडादर कायम गर्न अनुरोध गरेका छौं ।”

मंगलबार सार्वजनिक विदा भएकाले तत्काल सेवामा अवरोध नगरी सञ्चालन गर्ने अवस्थामा पुगेको उनले बताए । केन्द्रीयस्तरबाटै महासंघले औपचारिक निर्देशन नदिदासम्म सवारी चलाउन आफुहरु तयार बनेको उनले बताए । माडी, शक्तिखोर, मेघौली सडकखण्डको भाडादर केहि बढाउनुपर्ने पक्षमा व्यवसायी छन् । प्रहरीले ११ जना यातायात व्यवसायीलाई एक रात प्रहरी हिरासतमा राखेर आइतबार छाडेको थियो ।