विकास रनिङ शिल्ड प्रतियोगिताको १३ औं संस्करणको तयारी तिव्र

चितवन, भदौ २६ । आगामी कार्तिक १ गतेदेखी क्याम्पाचौरमा आयोजना हुन गइरहेको विकास रनिङ शिल्ड प्रतियोगिताको १३ औं संस्करणको तयारी तिव्र पारिएको छ । विकासशिल समिति चितवनले प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

वि.सं. २०५६ सालमा १२ औं संस्करण गरिएको प्रतियोगिताको १७ वर्षपछि १३ औं संस्करण आयोजना गर्न लागिएको हो । अन्तराष्ट्रिय टिमहरुको पनि सहभागिता रहने प्रतियोगितालाई सभ्य र भव्य बनाउनको लागि अहिले विकासशिल समिति सक्रिय रुपमा क्याम्पाचौर मैदान व्यवस्थापनमा लागिरहेको छ ।

प्रतियोगितामा नेपालका राष्ट्रिय फुटवल समूह सहित भारत र सिक्किमको खेलाडीहरुको समूह पनि चितवन आउने छन् । प्रतियोगितामा प्रथम हुने समूहलाई ३ लाख रुपैया पुरस्कार राशीको व्यवस्था गरिएको छ । प्रतियोगिता सञ्चालन गर्न ३ विगाहा क्ष्ँेत्रफल रहेको क्याम्पाचौरलाई व्यवस्थित गर्न आयोजक समिति लागि परेको छ ।

अहिले चौरमा रहेका खाल्डा खुल्डीहरु पुर्ने तथा सम्माउने, चौरमा रहेका घांसहरु काट्ने तथा मिलाउने, लगायतका कामहरुलाई तिव्र पारिएको विकासशिल समितिको मैदान व्यवस्थापन उपसमितिका संयोजक शान्ता कुमार पियाले जानकारी दिएका छन् ।

क्याम्पाचौरलाई खेल मैदानमा विकास गर्न पनि मैदान व्यवस्थापनको कामलाई तिव्रता दिइएको पियाले जानकारी दिएका छन् । पियाका अनुसार मैदानमा प्याराफिट पनि जडान गरिने छ । दर्शकहरुको सहजतालाई मध्येनजर गर्दै प्याराफिट जडान गर्न लागिएको पियाले बताएका छन् । पियाका अनुसार यस क्याम्पाचौरमा फुटवल तथा क्रिकेट दुवै खेलहरु खेलाउनका लागि जग्गाहरु प्रयाप्त रहेको छ ।