पाँचौँ राष्ट्रिय लाखे नाच प्रतियोगिता २०७३ हुने(भिडियोसहित)

 

चितवन, भदौ २६ । लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालको आयोजनामा चितवनमा पाँचौँ राष्ट्रिय लाखे नाच प्रतियोगिता २०७३ हुने भएको छ । भदौको ३० र ३१ गते चितवनको नारायणगढमा आयोजना हुन लागेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । lake-newsलाखे नाच लगायतका अमूर्त सम्पदाहरुको सांस्कृतिक धरोहरको रुपमा रहेको चाडवर्पहरुलाई जिवन्त राख्नुपर्ने हाम्रो दायित्व भएका कारण पनि लाखे नाचको आयोजना गरिएको आयोजकले जनाएको छ । २०६४ सालबाट आयोजना गरिएको प्रतियोगिता हरेक दुई दुई वर्षमा हुँदै आएको छ । प्रतियोगितामा हालसम्म ३० वटा समूहले भाग लिनको लागि नाम दर्ता गराइसकेको र प्रतियोगिता हुनेदिनसम्म देशभरीबाट ४० भन्दा बढी समूह सहभागी हुने प्रतियोगिताका मूल संयोजक निर्जनलाल श्रेष्ठले बताए ।


विभिन्न जिल्लामा छरिएर रहेका नेवार समुदायको आफ्नै पहिचान बोकेको लाखे नाचलाई एकीकृत पार्ने काम समेत प्रतियोगिताले गर्ने श्रेष्ठको भनाइ छ ।

 

लाखे नाच प्रतियोगिताले नेपालको आन्तरिक तथा बाह्य पर्यटन आगमनको लागि समेत टेवा पुग्ने लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालका अध्यक्ष राजेन्द्र कुमार पियाले बताए । मजिपाट लाखेले मानव जातिको संरक्षण गर्ने भएकाले समेत त्यसको संरक्षण गर्नको लागि नेवार समुदायले पुजा गर्दै आएको पियाको भनाइ छ । विशेष गरि लाखे नाच सोह्र श्राद्ध सुरु हुने पूर्णिमाको दिनसम्म देखाइने हुनाले त्यसै समयलाई मध्यनजर गर्दै प्रतियोगिता आयोजना गरिएको पियाले बताए ।

 

प्रतियोगितामा भाग लिनको लागि प्रति समूह दुई हजार रुपैयाँ दर्ता शुलकको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगिता अवधिभरी सहभागीको लागि खाना र बस्नका लागि आयोजनाले निशुल्क रुपमा व्यवस्था गरेको जनाएको छ । प्रतियोगिता सम्पन्न गर्नको लागि १५ लाख ३४ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगितामा पहिलो हुने समूहलाई ७५ हजार रुपैयाँ, दोस्रो हुनेलाई ५० हजार रुपैयाँ, तेस्रो हुनेलाई २५ हजार रुपैयाँ र सान्त्वना हुनेलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रतियोगिताको उद्घाटन गर्ने बताइएको छ ।