पत्रकार महासंघमा थारु कोटा माग, १ लाख ११ हजार एक सय रुपैयाँको अक्षयकोष घोषणा

चितवन, भदौै २५ । ९ बुँदे घोषणा पत्र जारी गर्दै थारु पत्रकार संघको पाँचौ वार्षिक साधारणसभा तथा राष्ट्रिय भेला सकिएको छ ।
सौराहामा भएको भेलाले पत्रकार महासंघमा पदाधिकारी र सदस्यमा छुट्टै थारु कोटा माग गरेको हो । भेलाले नेपालको संविधान २०७२ ले थारु समुदायलाई छुट्टै कलस्टरको व्यवस्था गरेकाले नेपाल पत्रकार महासंघको केन्द्रीय पदाधिकारी र सदस्यमा थारु कोटा छुट्याउन माग गरेको हो । त्यस्तै थारु बाहुल क्षेत्रको कलस्टर नबिगारी प्रदेशको संरचना गर्न माग पनि भेलाले गरेको छ । भेलाले टीकापुर घटनामा पक्राउ परेकाहरुलाई तत्काल रिहाई गर्न माग गरेको छ । ‘२०७२ भदौ ७ गतेको टीकापुर घटनामा पक्राउ परेका निर्दोष थारुहरुलाई तत्काल रिहाई गरियोस् । घटनाको सत्यतथ्य छानबिन गरी निर्दोषलाई रिहाई र ८ गतेको थारुको घर जलाउनेहलाई तत्काल पक्राउ गरी कानुनअनुसारको सजाय दिई पीडितलाई उचित क्षतिपूर्ति दिइयोस,’ घोषणा पत्रमा उल्लेख छ ।journalist
त्यस्तै भेलाले रेशम चौधरीको फूलबारी एफएम सञ्चालनमा ल्याउन पनि सरकारसँग माग गरेको छ । ‘टीकापुरका पत्रकार रेशम चौधरीको घरसहित फूलबारी एफएम जलाइएको छ । त्यसको उचित क्षतिपूर्ति प्रदान गरियोस्। लिजमा लिएर एफएम सञ्चालन गरिरहेका पत्रकार योगेश रावलसहित अन्य पीडित पत्रकारलाई क्षतिपूर्तिको व्यवस्था गरियोस,’ घोषणा पत्रमा उल्लेख छ ।
भेलाले पत्रकारको न्युनतम पारिश्रमिक दिन पनि सञ्चारमाध्यम सञ्चालनकर्तासँग अनुरोध गरेको छ । नेपाल सरकारको रातो किताबमै प्रकाशन भइसकेकाले भेलाले न्युनतम पारिश्रमिक दिन आग्रह गरेको हो ।
भेलाको बन्द सत्रमा संघका महासचिव मदन चौधरीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष शैलेन्द्र चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै सबै जिल्ला शाखाका अध्यक्षहरुले जिल्लाको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
१ लाख ११ हजार एक सय रुपैयाँको अक्षयकोष घोषणा
ओएसिस मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. मनोजकुमार चौधरीले थारु पत्रकारिता पुरस्कारका लागि एक लाख ११ हजार एक सय ११ रुपैयाँको अक्ष्यकोष स्थापना गरिदिने घोषणा गरेका छन् । उनले थारु पत्रकारहरुलाई प्रोत्साहन स्वरुप उक्त अक्ष्यकोष रकम दिन लागेको बताए । ‘पहिलोपटक हाम्रो ठाउँमा आएर राष्ट्रिय भेला गर्दै हुनुहुन्छ । यही अवसरमा थारु पत्रकारहरुलाई प्रोत्साहनस्वरुप एक लाख ११ हजार एक सय ११ रुपैयाँको अक्ष्यकोष स्थापना गरिदिन घोषणा गर्दछु,’ कार्यक्रममा सम्बोधन गर्दै उनले भने ।
भेलाको समुद्घाटन सत्रमा थारु पत्रकार संघका निवर्तमान अध्यक्ष एवंम नेपाल पत्रकार महासंघका अध्यक्ष लक्की चौधरी, थारु कल्याणकारिणी सभा चितवनका सभापति विश्राम महतो, क्रान्तिकारी पत्रकार संगठन चितवनका अध्यक्ष नवराज ढकाल, रिपोर्टर्स क्लव नेपाल चितवनका अध्यक्ष राजु चौधरी, थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सदस्य चन्द्रकुमारी चौधरी, नेपाल लोकतान्त्रिक थारु संघ चितवनका अध्यक्ष जयचन्द्र चौधरी, थारु राष्ट्रिय मुक्ति मोर्चा चितवनका अध्यक्ष विष्णुकुमारी चौधरी, ओएसिस मेडिकल कलेजकी प्रशासकिय प्रमुख हेमकुमारी चौधरी, थाकसका केन्द्रीय पार्षद बासुदेव चौधरीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । थारु पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष प्रदीप लेखी थारुले स्वागत मन्तव्य र चितवनका अध्यक्ष कारी महतोले धन्यवाद मन्तव्य व्यक्त गरेको कार्यक्रम ओएसिस मेडिकल कलेजका प्रवन्ध निर्देशक डा.मनोजकुमार चौधरीको प्रमुख आतिथ्यता एवंम थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्ण सर्वहारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कान्तिपुरका गणेश चौधरीलाई ‘उत्कृष्ट थारु पत्रकारिता पुरस्कार’
थारु पत्रकार संघ नेपालले ‘उत्कृष्ट थारु पत्रकारिता पुरस्कार’ कान्तिपुर दैनिकका गणेश चौधरीलाई प्रदान गरेको छ । चितवनको सौराहामा आयोजित पाँचौं वार्षिक साधारण सभा तथा राष्ट्रिय भेलामा पत्रकार चौधरीलाई सो पुरस्कार प्रदान गरिएको हो ।
थारुका समसमायिक मुद्दा र टीकापुर घटनापछि उब्जेको असहज परिस्थितिमा पनि निरन्तर थारुका मुद्दा उठाइरहेका उनलाई संघको केन्द्रीय कार्यसमितिले पुरस्कार दिने निर्णय गरेको थियो । हालसालै उनले कृष्णराज सर्वहारीको संयुक्त लेखमा थरुहट आन्दोलन र टीकापुरको कथा नामक किताब बजारमा ल्याएका छन् । पुरस्कार राशि ११ हजार एक सय ११ रुपैयाँ रहेको छ ।
उनले पुरस्कार ग्रहण गर्दै यसले थम जिम्मेवारी प्रदान गरेको बताए । ‘यो पुरस्कार दिएर मलाई थप जिम्मेवारी प्रदान गर्नुभएको छ । यो जिम्मेवारी मैले राम्रोसँग बहन गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु,’ उनले भने ।
यो पुरस्कार थारु पत्रकार संघ नेपाल र सतौन स्मृति ट्रस्टको पहलमा स्थापना गरिएको हो। उक्त ट्रस्ट नेपाली कांग्रेसका सांसद एवं नाइटिङ्गेल फाउन्डेसनका फाउन्डर तेजुलाल चौधरीले आफ्नो बुबाको नाममा स्थापना गरेका छन्। सोही ट्रस्टबाट सांसद चौधरीले वर्षे्नि ११ हजार १ य ११ रुपैयाँको पुरस्कार घोषणा गरेका हुन् ।
त्यस्तै थारु पत्रकार संघ नेपालको दाङ शाखालाई उत्कृष्ट शाखा घोषणा गरिएको छ। प्रमुख अतिथि मनोजकुमार चौधरीले दाङ अध्यक्ष सन्तोष दहितलाई सम्मान पत्र प्रदान गरेका हुन्।
कार्यक्रममा चितवन शाखाका अध्यक्ष कारी महतोको प्रकाशक तथा सम्पादनमा ‘सङ्हाति’ द्वैमासिक पत्रिका विमोचन गरिएको थियो ।