म्याद गुज्रिएको खाद्य सामग्री नष्ट
चितवन, २० भदौं । नारायणगढ, चाडपर्व नजिकिदै आएपछि स्थानीय प्रशासनले खाद्य अनुगमनलाई कडा पारेको छ । जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृतको नेतृत्वमा जिल्लाका खाद्य पसल तथा गोदामहरुमा अनुगमन सुरु गरिएको हो ।
खाद्य अनुगमनका क्रममा अखाद्य वस्तु भेटिएको अवस्थामा पहिलो पटक भएमा उक्त वस्तु जष्ट गर्दै बिक्रेतालाई सचेत गराएर छोड्ने, यदि अखाद्य वस्तु बिक्री वितरण पटक पटक गरेको अवस्थामा उसलाई खाद्य ऐन अन्तर्गत कारबाही गर्ने गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनबाट खटिएको टोलीले नारायणगढका २६ वटा खाद्य पसलमा अनुगमन गरेको छ । टोलीले नारायणगढको बालकुमारी रोडमा गरेको अनुगमनका क्रममा अखाद्य तथा म्याद गुज्रिएको बस्तु तथा सामानलाई नष्ट गरेको जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक नविन देउजाले बताए ।
खाद्य अनुगमनका क्रममा तीन वटा पसलमा म्याज गुज्रिएको खाद्य तथा पेय पदार्थ भेटिएकोले उक्त वस्तुहरु नष्ट गरिएको देउजाले जानकारी दिएका छन् । गुप्ता फुड्स एण्ड जुस सेन्टरमा कोक, फ्यान्टा गरि साढे २६ लिटर म्याट गुज्रिएको भेटिएको, स्वस्तिक उपभोक्ता भण्डारमा ४३ प्याकेट दलमोट म्याद गुज्रिएको पाइएको, सस्तो पसलमा एक सय १५ प्याकेट कुरमुरे, दुई सय ५० ग्रामको गुडडे बिस्कुट ४६ थान म्याद गुज्रिएको पाइएकाले उक्त वस्तुहरु नष्ट गरिएको छ ।
यी तीन वटै पसलमा पहिलो पटक म्याद गुज्रिएको सामान पाइएकोले नष्ट मात्र गरेर छोडिएको खाद्य निरीक्षक देउजाले जानकारी दिए । पटक पटक एउटै पसलमा म्याद नाघेका दुषित खाद्य पदार्थ विक्री वितरण गरेको पाइएमा खाद्य ऐन अन्तर्गत कारबाही गर्ने देउजाको भनाइ छ । यद्यपि नारायणगढका सम्पूर्ण खाद्य तथा पेय पदार्थ विक्रेताहरुले मूल्य सूची राखेर वस्तु विक्री वितरण गरेको पाइएको देउजाले जानकारी दिए ।