नेपालमा देखिएको नयाँ रोग स्क्रब टाइफस के हो ?

 डा अरूण सेढाईँ (डीएम)

हाल देशका बिभिन्न भागहरु, बिशेष गरी चितवन लगायतका जिल्लाहरुमा स्क्रब टाइफस (एक प्रकारको ज्वरोजन्य रोग) प्रकोपकै रुपमा फैलिएको छ । सबैभन्दा पहिले इ सं १८१० मा हासिमोतोले जापानमा यो रोगको पहिचान गरेका थिए । त्यसपछि विश्वका विभिन्न मुलुकहरुमा यो रोग धेरै वर्षदेखि नै पहिचान हुँदै आएको हो।

दोश्रो विश्व युध्दताका सुदुर पूर्वी मुलुकहरुमा विशेष गरी सैनिकहरुका बीचमा यो रोग महामारीकै रुपमा फैलिएको र धेरै व्यक्तिको मृत्यु समेत भएको इतिहास पाइन्छ । उत्तरमा जापान र रसियाको पूर्बी भाग, दक्षीणमा अष्ट्रेलियाको उत्तरी भाग र पश्चिममा पाकिस्तानसम्मको भूभाग (जसलाई सुसुगामुसी त्रिकोण पनि भनिन्छ) नै संसारमा सबैभन्दा बढी स्क्रब टाइफस पाइने क्षेत्र हो ।273105776arun-sedaiहाम्रो देश नेपालमा सर्वप्रथम सन् २००४ मा पहिलो पटक यो रोगको पहिचान भएको थियो र त्यसपछिका वर्षहरुमा फाट्टफुट्ट रुपमा देखिँदै गएको भए पनि यो वर्ष प्रकोपकै रुपमा निकै ठूलो क्षेत्रमा विस्तार भएको छ र यसको समस्या केही बढी नै देखिएको छ ।

चितवनको भरतपूरस्थित चितवन मेडिकल कलेजमा मात्र हालसम्म ३४१ जना ज्वरोका बिरामीको परीक्षण गरिएकोमा १५३ जनामा यो रोग प्रमाणित भएको र त्यहाँमात्र ३ जना व्यक्तिको मृत्यु भइसकेको छ ।

के हो स्क्रब टाइफस र कसरी सर्छ ?

ओरियन्टिया सुसुगामुसी (जसलाई पहिले रिकेट्सिया सुसुगामुसी भनिन्थ्यो) नामको ब्याक्टेरियाको कारणबाट यो रोग लाग्दछ । सामान्यतः जंगली झाडी र खुल्ला ठाउँको बीचको भूभागमा बढी प्रकोप हुने भएको कारणले गर्दा यस रोगको नाम स्क्रब टाइफस रहन गएको हो ।

प्राणीको कोषभित्र पसेर संक्रमण फैलाउने यो ग्राम नेगेटिभ जीवाणुका विभिन्न प्रजातिहरु हुन्छन् । जापानी शब्द ‘सुसुगा’ को अर्थ सानो र खतरनाक एवं ‘मुसी’ को अर्थ सूक्ष्म कीरा हुन्छ । यस जिवाणुले मस्तिष्क, कलेजो, फोक्सो आदिमा थुप्रै प्रकारको संक्रमण फैलाउँछ र यस्ता बिरामी बहुअंग विकार (मल्टी अर्गान डिस्अर्डर) को अवस्थामा पुग्छन् ।

यो रोग ओरियन्टिया सुसुगामुसीले संक्रमित किर्ना र सुलसुले जातको सूक्ष्म कीरा (माइट) को टोकाइबाट फैलिन्छ । यो कीरा मुख्यतः खेत, झाडी, घाँस, नदीको छेउछाउ आदि ठाउँमा रहने मुसा प्रजातिका जनावरमा पाइन्छ ।
यो रोग उत्पन्न गर्ने ब्याक्टेरिया सामान्यतः मुसाको पेटभित्र बस्छ ।

स्क्रब टाइफसका लक्षणहरू

सुलसुले जातको किराले टोकेपछि व्यक्तिमा स्क्रब टाइफसका लक्षण देखिन ५ देखि २० दिनसम्म लाग्न सक्दछ । सुलसुलेले सामान्यतः काछ, काखी, यौनांग तथा घाँटीको वरिपरि टोक्न सक्दछ र टोक्दा कुनै दुखाइको महसुस हुँदैन बरु टोकाइको वरिपरि सामान्य चिलाईको अनुभव हुन सक्दछ ।

केही दिनमा टोकेको ठाउँमा रातो डावर देखिन थाल्छ र डावरको बीचको भाग मरेको जस्तो गरी कालो देखिन सक्छ ।
रोगले सँक्रमित व्यक्तिहरुमा उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको सँक्रमण हुने, काछमा गिर्खा आउने जस्ता लक्षणहरु देखिन सक्छ ।

व्यक्तिले माँशपेशी र पेटको दुखाइको अनुभव गर्न सक्छ । कुनै कुनै अवस्थामा शरीरका विभिन्न भागहरुबाट रक्तश्राव हुने र रक्तनली भित्रै रगत जम्ने, फोक्सोमा निमोनिया हुने, मुटुको मांशपेशीमा खराबी उत्पन्न गर्ने, मृगौलाको काममा खराबी देखिने र बेहोसी हुनेजस्ता बढी खतरनाक लक्षण र जटीलताहरु देखिन सक्दछ, जसका कारण बहुअँग विकारको समस्या देखिन्छ र अन्त्यमा व्यक्तिको मृत्यु पनि हुन सक्दछ ।

स्क्रब टाइफसको पहिचान कसरी गर्ने ?

सामान्यतः बिरामीको समस्या सुनेपछि र आवश्यक शारीरिक जाँच पडताल गरेपछि अनुभवी चिकित्सकले यो रोग लागे नलागेको शँका गर्न सक्छन् तर यो रोग लागे वा नलागेको पुष्टि गर्नका लागि प्रयोगशालामा रगतको परीक्षण गर्नु पर्ने हुन्छ । पहिले पहिले वेल फेलिक्स नाम गरेको जाँच गर्ने गरिन्थ्यो र पछि कम्प्लिमेन्ट फिक्सेशन जाँच गर्न थालियो ।

प्रयोगशालामा कल्चर गरेर समेत यो किटाणुको पहिचान गर्न सकिन्छ तर यी जाँच गर्न धेरै खर्च लाग्ने र लामो समय समेत खर्चनु पर्ने वाध्यताका कारणले आजभोलि शीघ्र परीक्षण प्रणालीको विकास भएको छ, जसबाट केही घन्टामा नै यो रोग लागे नलागेको पुष्टि गर्न सकिन्छ । तर यी हरेक जाँच गराउनका लागि भोग्नु पर्ने समस्या त छँदैछन् ।

एकातिर रोग लागेको एक हप्तासम्म पनि रगतको परीक्षणमा किटाणुको पहिचान गर्न नसकिने हुन सक्छ भने अर्कोतिर मुलुकका धेरै जसो प्रयोगशालामा यो रोगको परीक्षणको सुविधा उपलब्ध नहुन सक्छ ।

उपचार

स्क्रब टाइफसको उपचारका लागि उपयुक्त समयमा उपयुक्त एन्टिबायोटिकको प्रयोग गर्नु पर्ने हुन्छ । डक्सिसाइक्लिन र क्लोराम्फेनिकोल नामका औषधीलाई यो रोगको उपचारमा अति प्रभावकारी मानिएको छ। बच्चाहरुलाई डक्सिसाइक्लिन दिनु अल्लि खतरनाक मानिएको कारणले यो उमेर समुहका बिरामीको लागि एजिथ्रोमाइसिन र क्लोराम्फेनिकोल उत्तम औषधी मानिन्छ ।

एन्टिबायोटिक प्रयोग गर्न थालिएको केही दिनमा नै बिरामीको स्वास्थ्यमा यस्तो नाटकीय सकारात्मक सुधारका लक्षणहरु देखा पर्न थाल्दछन् कि कतिपय अवस्थामा बिकसित मुलुकहरुमा समेत औषधीका कारण बिरामीमा देखिने सुधारात्मक लक्षणहरुलाई नै रोग पहिचानको माध्यमका रुपमा समेत लिने गरिएको पाइन्छ ।

रोकथामका उपायहरु

रोग प्रभावित क्षेत्रमा बस्ने व्यक्तिहरुका लागि सुलसुले र किर्नाको टोकाईबाट बच्नु नै सबैभन्दा उत्तम उपाय हो । जसका लागि शरीर पूरै ढाकिने खालका लुगा लगाउने, जँगल र झाडीतिर धेरै हिँड्डुल नगर्ने, जमीनको घाँसमा पल्टेर नबस्ने जस्ता उपाय अपनाउनु पर्ने हुन्छ । किराको टोकाइबाट जोगिन जीउमा मल्हमको प्रयोग समेत गर्न सकिन्छ । हालसम्म यो रोगका विरुद्ध कुनै पनि खोपको विकास भइसकेको छैन । रोगको प्रकोप भएको क्षेत्रको भ्रमणमा जाँदा व्यक्तिगत बचावटका लागि छोटो अवधिका लागि टेट्रासाइक्लिन र क्लोराम्फेनिकोलको प्रयोग गर्न सकिन्छ तर रोग प्रभावित क्षेत्रमै बसोबास गर्ने मानिसहरुका लागि यो उपाय अवलम्बन गर्ने सल्लाह दिइँदैन । सेढाईँ चितवन मेडिकल कलेज, भरतपुर, चितवनमा कार्यरत छन् ।

.