तीजको दिन चार ग्राहकको बत्ती काटियो

भरतपुर, १९ भदौ । नेपाल विद्युत प्राधिरकण भरतपुर वितरण केन्द्रले तीजको दिनमा समेत विद्युत लाइन काटेको छ ।

bijali-chor-1465033710

लामो समयसम्म विद्युत महसुल नबुझएका ग्राहकहरुको विद्युत लाइन काटिएको प्राधिकरणका फोरम्यान वीरबहादुर तामाङले जानकारी दिए । आइतबार हरितालिका तीजको दिनमा कार्यालयले चार जना ग्राहकको बिद्युत लाइन काटेको हो । आइतबार लाइन काटिएका ग्राहकमध्ये तीन वटा सरकारी कार्यालय तथा एउटा व्यक्तिगत रहेको छ ।

कार्यालयले आइतबार मालपोत कार्यालय चितवन, जिल्ला पशु सेवा कार्यालय चितवन, भरतपुर कबर्ड हल र मुग्लिङको मिलन राइस मिलको बिद्युत लाइन काटेको तामाङले बताए । केन्द्रको निर्देशन अनुसार लामो समयसम्म बत्तीको महसुल नतिरेका ग्राहकहरुको भदौ २ गते बत्ती काट्न सुरु गरिएको हो । यस अवधिमा आइतबारसम्म एक सय नौ जना ग्राहकको विद्युतको लाइन काटिएको तामाङले जानकारी दिए । एक सय नौ जना ग्राहकबाट ३५ लाख ५० हजार एक सय ६० रुपैयाँ वक्यौता रकम असुल गर्न बाँकी रहेको समेत तामाङले जानकारी दिए ।

यसैबीच, भदौ १९ गतेसम्म ७३ जना ग्राहकको विद्युत लाइन जोडिएको छ । लामो समयसम्म विद्युत महसुल नतिरेर बत्ती काटिएका ७३ जना ग्राहकले जरिवाना सहित विद्युत महसुल भुक्तानी गरेपछि उनीहरुको बत्ती पुनः जडान गरिएको तामाङले जानकारी दिए । यस अवधीमा ७३ जनाको बत्ती जडानबाट ३६ लाख ७९ हजार नौ सय २६ रुपैयाँ बिद्युत महसुल उठाउन कार्यालय सफल भएको तामाङले बताए । 

आठ वटा सरकारी कार्यालयको बत्ती काटियो

त्यस्तै, हालसम्म आठ वटा सरकारी कार्यालयको बिद्युत लाइन काटिएको छ । यस अगाडि नै जिल्ला शिक्षा कार्यालय चितवन, जिल्ला वन कार्यालय चितवन, डिभिजन सडक कार्यालय भरतपुर र सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय भरतपुरको बिद्युत लाइन कटौती गरिएको थियो ।

.