मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी खुल्यो

चितवन, १९ भदौ । पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी खुलेको छ । चारकिलो भन्ने ठाउँमा आज बिहान खसेको पहिरो हटाउने प्रयास भइरहेकाले आलोपालो एक तर्फी गाडी चल्न दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सौराहा अनलाईनलाई जानकारी दिएको छ ।

ठूलो पहिरो खसेकाले पहिरो हटाउन कम्तिमा पनि डेढ घण्टा लाग्ने प्रहरीले जनाएको छ । यसअघि पहिरो खसेपछि बिहान साढे ६ बजेदेखि सवारी आवागमन ठप्प भएको थियो ।

सडक अवरुद्ध हुँदा काठमाडौं भित्रने र बाहिरिने सयौं गाडी बाटोमै रोकिएका थिए । बाटो बिस्तारको काम चलिरहेकाले सानो पानी पर्दा पनि पहिरो खसेर बाटो अवरुद्ध हुँदा यात्रुलाई सास्ती हुदै आएको छ ।