रिउ खोलामा पानीको सतह यस वर्षकै उच्च
चितवन, १९ भदौ । शनिबार राति ठूलो पानी परेपछि चितवनको रिउ खोलामा पानीको सतह यस वर्षकै उच्च भएको छ ।
रिउ खोलमा अहिले बाढी आएको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
शाखाका बाढी विज्ञ विनोद पराजुलीका अनुसार रिउ खोलामा पानीको सतह चेतावनी तहभन्दा माथि छ ।
पानीको सतह घट्ने क्रममा रहेपनि माडी आसपासका बासिन्दालाई आइतबार दिउँसोसम्म सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।
उहाँका अनुसार शनिबार राति १० बजेदेखि आइतबार बिहान ३ बजेसम्म बनकट्टा, छरछरे, ठोरी र कल्याणपुरमा एक सय मिलिमिटर भन्दा धेरै पानी परेको छ ।
यस्तै अहिले पनि पानी परिरहेकाले चितवन र नवलपरासी आसपासका नदीमा बाढी आउने संभावना भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।
विशेषगरी भिरालो जमिनमा पहिरो तथा स्थानीय खोलामा बाढीको संभावना भएकाले सचेत हुनपर्छ ।