१७ वर्षको अवधिमा १ करोड १७ लाखले मनकामना केवलकार चढे

चितवन, १८ भदौ.। नेपालको पहिलो मनकामना केवलकारमा अहिलेसम्म १ करोड १७ लाख यात्रुले चढेका छन् । १७ वर्षको अवधिमा यतिधेरै यात्रुले केवलकार चढेका हुन् ।

पाँच सय वर्षभन्दा लामो इतिहास भएको हिन्दुहरुको आस्थाकी देवी मनकामना मन्दिर जाने स्थानमा स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठले केवलकार निर्माण गरेका थिए । २०५५ साल मंसिर ८ गतेदेखि संचालनमा आएको केवलकारमा अहिले वार्षिक १० लाख यात्रु चढ्ने गरेको मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए ।cable car 1

मनकामना मन्दिरमा स्वदेशी र विदेशीको समेत प्रमुख धार्मिक गन्तब्य हो, उनले बिजमाण्डूसँग भने, मनकामना मन्दिरमा भाकल गर्ने व्यक्तिहरु एक पल्ट होइन दशौ पटक आउने गर्छन् त्यसैले केवलकार चढ्ने व्यक्ति सवा करोड पुगेको हो । केवलकार चढ्ने यात्रु बढ्न थालेपछि कम्पनीले थप गोन्डोला थप्ने तयारी गरेको छ ।

कार्यकारी निर्देशक श्रेष्ठका अनुसार अहिले धेरै चाप भएको बेलामा एकै दिन ८ हजार यात्रु चढाइसकेका छन् । कम्पनीले तीन वटा गोन्डोला थपेपछि एकै दिन १० हजारसम्म यात्रुलाई चढाउन सकिने जनाएको छ । अहिले ३१ वटा गोन्डोला संचालनमा छ । श्रेष्ठले गत वर्ष भूकम्प र नाकाबन्दीको समय भएपनि ८ लाख यात्रु केवलकार चढेको बताए ।

भूकम्प र नाकाबन्दीको समयमा पनि मनकामना आउने भक्तजनको कमी देखिएन । नाकाबन्दीले स्वदेशी र विदेशी पर्यटक प्रभावित भएका थिए, उनले भने, तर हामीले सोचे अनुसार धेरै घटेन् । मनकामना केवलकारमा नेपाली दुईतर्फी चढ्दा ६ सय ५० रुपैयाँ शुल्क लाग्छ ।

केवलकारको एग्रेसिभ क्याम्पेन
कम्पनीले मनकामना दर्शनलाई लक्षित गर्दै विशेष प्याकेज ल्याएको छ । कम्पनीसहित आसपासका होटलसँगको सहकार्यमा मनकामना मन्दिरको पुनर्निर्माणको लागि हामी सबैको पवित्र धरोहर माता मनकामनाको बन्दैछ घर भन्ने नारासहित विशेष प्याकेज ल्याएको हो ।

यो प्याकेजका अवसरमा भदौ २० गतेदेखि ३१ गतेसम्म मनकामना केवलकारको टिकटमा १५ प्रतिशत छुट दिनेछ । यो वाहेक मनकामना दर्शन प्रालिका टुर अपरेटर बसले १५ प्रतिशत छुट दिने कम्पनीले जनाएको छ । मनकामनाका होटेल व्यवसायी खाना र कोठामा १५ प्रतिशत छुट दिनेछन् भने डालिमा रिर्सोट्स र रिभर साइड रिर्सोट्सले खाना र कोठामा १० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ ।

पुनर्निर्माणमा १२ करोड
मनकामना जिर्णोद्धारका लागि झन्डै १२ करोड लाग्ने देखिएको छ । जिर्णोद्धारका लागि सरकारले चार करोड रुपैयाँ दिएको छ । यो वाहेक मनकामना जिर्णोद्धारका लागि भक्तजनहरुले सहयोग गरिरहेका छन् ।cable car

२०६८ सालमा ८ करोडमा जिर्णोद्धार गरिसक्ने भनिएपनि विशेष हिसाबले निर्माण गरिएकोले महँगो पर्न गएको हो । मनकामना मन्दिर जिर्णोद्धार समिति, गोरखा उद्योग वाणिज्य संघ, मनकामना बजार ईकाई र मनकामना दर्शन प्रालिले जिर्णोद्धारका लागि विशेष पहल गरिरहेको छ । समितिका अनुसार मनकामनाको जिर्णोद्धार एक वर्षभित्र सकिनेछ ।

अहिले मन्दिरको पचास प्रतिशत काम सकिएको छ । भूकक्प र नाकाबन्दीका कारण मन्दिर जिर्णोद्धारमा समस्या भोगेको थियो भने अहिले काठको समस्याले काम अघि बढ्न कठिन भएको छ ।

मनकामना दर्शनको एक करोड
मनकामना मन्दिर जिर्णोद्धारका लागि मनकामना दर्शनले एक करोड रुपैयाँ सहयोग गरेको छ । केवलकारका प्रवद्र्धक तथा संस्थापक लक्ष्मणबाबुको ईच्छा अनुसार जिर्णोद्धारका लागि एक करोड रुपैयाँ दिएको उनका छोरा राजेशबाबु श्रेष्ठले बताए ।